जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार ०७:४७

संयुक्त हिन्दु मोर्चाद्वारा सरकारसमक्ष १३ बुँदे माग पेश, आन्दोलन तत्काल स्थगित गर्ने घोषणा


धनुषा, साउन १७। संयुक्त हिन्दु मोर्चाले गृहमन्त्री सुधन गुरुङ समक्ष १३ बुँदे मागपत्र बुझाउँदै आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्रीसमक्ष बुझाइएको मागपत्रमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने विषयमा निश्चित समयसीमासहित सर्वदलीय छलफल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिएको छ। मोर्चाले दीर्घकालीन शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सहअस्तित्व कायम राख्ने उद्देश्यले आफ्ना मागहरू प्रस्तुत गरेको जनाएको छ।

मागपत्रमा धार्मिक पर्व तथा जुलुसका क्रममा हतियार प्रदर्शनमा रोक लगाउने, मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा जडान गरिएका लाउडस्पिकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोग आवश्यक धार्मिक गतिविधिमा मात्र सीमित गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

यस्तै, सबै धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण, विदेशी नागरिकको निगरानी तथा व्यवस्थापन, सामाजिक सञ्जालमार्फत धार्मिक, जातीय वा साम्प्रदायिक हिंसा भड्काउने गतिविधिमा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।

मोर्चाले सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी कानुनी प्रक्रियाअनुसार आवश्यक निर्णय गर्न, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न तथा आन्दोलनमा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ।

त्यसैगरी, विगतका वर्षहरूमा प्रदान गरिएका नागरिकताको पुनरावलोकन, मदरसा तथा अन्य धार्मिक संस्थामा प्राप्त हुने विदेशी आर्थिक सहयोगको अनुगमन, १२ वर्षीय आनन्द दासको घटनामा संलग्नलाई कानुनी कारबाही तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि समेटिएको छ।

संयुक्त हिन्दु मोर्चाले सरकारसँग वार्ता र संवादमार्फत समस्याको समाधान खोज्ने वातावरण बनेको जनाउँदै मागपत्र पेश गरेसँगै आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको छ।