काठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानस्थित ब्रेड पिक हिमालमा गएको हिमपहिरोमा परी पर्वतारोहणका नायक निर्मल पुर्जा ‘निम्स दाई’सहित उहाँका पाँच सहयात्रीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी शोक वक्तव्यमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल ६ महिना ६ दिनमै आरोहण गरी विश्व पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल निर्मल पुर्जाले नेपाल र नेपालीको गौरव विश्वभर स्थापित गर्नुभएको उल्लेख गरिएको छ। वक्तव्यमा उहाँसँगै पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको असामयिक निधनले समग्र राष्ट्र स्तब्ध र मर्माहत भएको जनाइएको छ।
एमालेले असम्भवलाई सम्भव बनाउँदै विश्वलाई साहस, सङ्कल्प र दृढ इच्छाशक्तिको प्रेरणा दिने ती पर्वतारोहीहरूको निधनसँगै नेपालले आफ्ना अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्ततिहरू गुमाएको उल्लेख गरेको छ। पार्टीले यस घटनालाई नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद अन्त्यका रूपमा व्याख्या गरेको छ।
महासचिव शंकर पोखरेलले वक्तव्यमा भन्नुभएको छ, “विश्व पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै असम्भवलाई सम्भव बनाएर संसारलाई साहस र सङ्कल्पको पाठ सिकाउने हाम्रा सपूतहरू आज सधैँका लागि हिमालकै काखमा लीन हुनुभएको छ। उहाँहरूको यो असामयिक र दुःखद निधनले पर्वतारोहण क्षेत्रका साथै समग्र राष्ट्रले आफ्ना अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्ततिहरू गुमाएको छ। यो नेपालको पर्वतारोहण इतिहासमा एउटा स्वर्णिम अध्यायको दुःखद अन्त्य हो।”
उहाँले दिवङ्गत निर्मल पुर्जा ‘निम्स दाई’सहित सम्पूर्ण पर्वतारोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, यस कठिन परिस्थितिमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्