काठमाडौं, साउन १७ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आइतबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाले कटान गरेपछि अवरुद्ध भएको छ भने रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीको कटानले पासाङ ल्हामु राजमार्ग अवरुद्ध बनेको छ।
यस्तै, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडकमा पनि सवारी आवागमन ठप्प भएको छ।
नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्