काठमाडौं, मंसिर ५ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी प्रतिबद्धता अविलम्ब पूरा गरी द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्न सबै राजनीतिक दल, सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको स्मरण गर्दै उहाँले शान्ति सम्झौता केवल सशस्त्र द्वन्द्व अन्त्य गर्ने दस्तावेज मात्र नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्माण भएको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्नुभएको छ। २०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको स्मरण गर्दै संयोजक प्रचण्डले उक्त सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको बताउनुभएको छ।
ऐतिहासिक सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले नेकपा (माओवादी) का अध्यक्षका रूपमा हस्ताक्षर गरेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘यो केवल दुई पक्षबीचको सम्झौता थिएन, बरु नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज थियो।’
शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको उहाँको भनाइ छ। नेपालको राजनीतिक इतिहासमा शान्ति सम्झौता युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको पनि उहाँले उल्लेख गर्नुभएको छ।
तर शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व अझै बाँकी रहेको उहाँको भनाइ छ। ‘शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो,’ प्रचण्डले भन्नुभएको छ।
संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभएको छ। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितका पीडा, उनीहरूले उठाउँदै आएका न्यायका सवाल र सम्झौताका मूल प्रतिबद्धतालाई केन्द्रमा राख्नुपर्ने उहाँको धारणा छ।
यस ऐतिहासिक अवसरमा शान्ति प्रक्रियामा योगदान पुर्याउने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै उहाँले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ।
साथै, शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल, सम्बन्धित निकाय र सबै सरोकारवाला पक्षलाई गम्भीरतापूर्वक आग्रह गर्नुभएको छ। ‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो। यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्