जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २०:२९

आफूलाई मार्न खोज्नेहरूलाई नै प्रतिनिधिसभाको टिकट दिइयो : देउवा


पोखरा, मङ्सिर ५ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र पार्टीका नेतामाथि आक्रमण गर्न खोज्ने व्यक्तिहरूलाई नै प्रतिनिधिसभाको टिकट दिइएको आरोप लगाउनुभएको छ ।

शनिबार पोखरामा आयोजित देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गगन थापा नेतृत्वको पक्षप्रति लक्षित गर्दै यस्तो आरोप लगाउनुभएको हो ।

आफ्नो निवासमा आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने र आफूलाई ज्यान मार्ने प्रयास गरेका व्यक्तिसमेत प्रतिनिधिसभाको उम्मेदवार बनेको देउवाको दाबी छ ।

‘शेरबहादुरको घरमा हान्नुपर्छ भन्नेलाई टिकट दियो । मलाई झन्डै मारिसक्न लागेको मान्छेलाई पनि चार नम्बर क्षेत्रमा टिकट दियो,’ उहाँले भन्नुभयो ।

देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणाको ज्यान जेनजी युवाहरूले जोगाएको बताउनुभयो । आन्दोलनका बेला ५० वर्ष उमेर कटेका व्यक्तिहरूले ठूलो षड्यन्त्र गरेको र आफ्नो घर जाने बाटो अवरुद्ध हुँदा नेपाली सेना समेत पुग्न नसकेको उहाँको भनाइ थियो ।

उहाँले भट्टराई निवास र बीपी कोइराला परिवारको घरमा भएको आक्रमणको समेत निन्दा गर्नुभयो ।

विशेष महाधिवेशनका नाममा किर्ते हस्ताक्षर प्रयोग गरिएको आरोप लगाउँदै देउवाले विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको सनाखतलगायत आवश्यक प्रक्रिया पूरा नगरी षड्यन्त्रपूर्वक पार्टी कब्जा गर्न खोजिएको दाबी गर्नुभयो ।

सामान्य गाउँमा जन्मिएर राजनीतिमा आएको स्मरण गर्दै उहाँले पार्टीले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयो । अब देशका लागि योगदान गर्ने समय आएको पनि उहाँले बताउनुभयो ।

देउवा पक्षको उक्त अधिवेशनले गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री निर्वाचित हुनेछन् ।

त्यस्तै, प्रदेशका ११ जिल्लाबाट तीन–तीन जनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी समूहबाट १७ जना सदस्य चयन गरिनेछ ।