काठमाडौं, मंसिर ५ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा जारी फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।
लुम्बिनीले सुरुवातदेखि नै सुदूरपश्चिमका बलरसामु खुलेर खेल्न सकेन । पहिलो ओभरमा एक रनमात्रै जोडेको लुम्बिनीले २.१ ओभरमा पहिलो विकेट गुमायो । ओपनर आसिफ शेख चार बलमा एक रन बनाएर आउट भए । उनलाई सुदूरपश्चिमका स्कट कुगलेइनले पभेलियन फर्काए ।
त्यसपछि कप्तान रोहित पौडेल तेस्रो नम्बरमा ब्याटिङका लागि आए । तर, ५.३ ओभरमा लुम्बिनीले दोस्रो विकेट पनि गुमायो । ओपनर डार्सी शर्ट १८ बलमा २१ रन बनाएर आउट भए । उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आउट गरे ।
पावरप्लेमा दुई विकेट गुमाएर ३७ रन बनाएको लुम्बिनीको इनिङ्स कप्तान रोहित पौडेल र निरोशन डिकवेलाले सम्हाल्ने प्रयास गरे । दुवैले टोलीको स्कोर अघि बढाए पनि आक्रामक ब्याटिङ गरिरहेका डिकवेला १७ बलमा २८ रन बनाएर आउट भए । उनलाई श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेले बोल्ड गरे ।
त्यसपछि क्रिजमा आएका दिलिप नाथले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीको रन गति बढाए । तर, १४औँ ओभरको समाप्तिमा लुम्बिनीले कप्तान रोहितको विकेट गुमायो । दिलिप नाथसँग तालमेल नमिल्दा रोहित रनआउट भए । उनले ३१ बलमा ३० रनको योगदान दिए ।
त्यसपछि आएका सन्दीप जोराले पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनले पाँच बलमा चार रनमात्रै बनाएर विकेट गुमाए ।
अन्तिम ओभरहरूमा अलि शेखले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीको स्कोर उकासे । उनले १२ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २४ रन बनाए । दिलिप नाथ भने ३९ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि स्कट कुगलेइनले सर्वाधिक दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक–एक विकेट लिए ।
अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा १५६ रन बनाउनुपर्नेछ । अहिले सुदूरपश्चिम खेलिरहेकाे छ ।













प्रतिक्रिया दिनुहोस्