जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २०:३५

बालेनको भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री र दलहरूसँग परामर्श गर्ने परम्परा तोडियो, राष्ट्रपतिलाई समेत जानकारी छैन


काठमाडौं, मङ्सिर ५ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ । भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गर्ने परम्परा तोडिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठेको हो ।

प्रधानमन्त्री शाह आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । तर भ्रमणअघि भारतसँग उठाउनुपर्ने राष्ट्रिय हितका मुद्दा, विगतका सहमति तथा द्विपक्षीय सम्बन्धका विषयमा राजनीतिक दल र पूर्वकूटनीतिज्ञसँग सरकारले सुझाव नलिएको भन्दै आलोचना भइरहेको छ ।

पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा राजनीतिक दलहरूसँग परामर्श गर्ने अभ्यास रहेको बताउनुभयो ।

राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन, विगतका सरकारका अनुभव र सहमति बुझ्न तथा भ्रमणका क्रममा सम्बन्धित मुलुकसँग आत्मविश्वासका साथ कुरा राख्न यस्तो छलफल आवश्यक हुने उहाँको भनाइ छ ।

साउदका अनुसार विगतमा भएका वार्ता, सहमति र प्रतिबद्धताबारे जानकारी लिन तथा राष्ट्रिय हितका विषयमा साझा दृष्टिकोण बनाउन पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्ने गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको २०८० जेठमा भएको भारत भ्रमणअघि पनि पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरिएको थियो । उक्त छलफलमा सीमा समस्या, ईपीजी प्रतिवेदन, पञ्चेश्वर आयोजना, हवाई रुट, व्यापार तथा पारवहनलगायत विषयमा भारतसँग उठाउनुपर्ने मुद्दाबारे सुझाव लिइएको थियो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको २०८२ भदौमा भएको चीन भ्रमणअघि पनि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गरिएको थियो ।

यसपटक प्रधानमन्त्रीको भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई समेत सरकारले औपचारिक जानकारी नगराएको विषय सार्वजनिक भएको छ । शीतल निवास स्रोतका अनुसार भ्रमणबारे राष्ट्रपतिलाई अहिलेसम्म औपचारिक जानकारी गराइएको छैन ।

विगतमा प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने र भ्रमणबाट फर्किएपछि त्यसबारे अवगत गराउने अभ्यास रहँदै आएको थियो । यसपटक उक्त अभ्याससमेत पालना नभएको भन्दै प्रश्न उठेको छ ।

राष्ट्रपतिलाई भ्रमणबारे जानकारी गराउने विषय संवैधानिक संस्थाबीचको सम्बन्ध र नियमित अभ्याससँग जोडिने पूर्वपरराष्ट्रमन्त्री साउदको भनाइ छ ।

भारतसँगको सम्बन्धमा राष्ट्रिय हितका मुद्दा उठाउनुपर्ने संवेदनशील समयमा राजनीतिक दल र पूर्वकूटनीतिज्ञसँग परामर्श नगरी प्रधानमन्त्री भारत जान लाग्नुभएको विषयले भ्रमणको तयारी र सरकारको कूटनीतिक कार्यशैलीमाथि बहस सिर्जना गरेको छ ।