काठमाडौं, पुस १९ । जापानले दुई हजार भन्दा बढी नेपाली कामदार लैजाने तयारी अघि बढाएको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र मार्चमा एक हजार ३ सय नेपाली कामदार लैजाने तयारी थालेको हो । फाउण्डेसनले सूचना जारी गरी परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ ।
सूचनाअनुसार जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । जापान जाने चाहना राख्ने कामदारको परीक्षका लागि दुई हजार ५ सय रुपैया शुल्क तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तीण हुनुपर्ने फाउण्डेशनको भनाई छ । कुल २५० अंकको परीक्षामा सहभागीले न्यूनतम २०० अंक ल्याउनै पर्ने ब्यवस्था राखिएको छ ।
परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयत्र पेश गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ । फाउण्डेशनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्नेछ ।
गत चैतमा नेपाल र जापानबीच नेपाली कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो । सोही नीतिअनुसार नेपाली कामदार लैजाने गृहकार्य अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्