जनता टाइम्स

७ मंसिर २०८३, सोमबार १७:५४

नेपाल–भारत सहमति कार्यान्वयन गर्न उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाइने


काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा विकास परियोजनालाई शीघ्र कार्यान्वयन गर्न नेपाल र भारतले उच्चस्तरीय अनुगमन संयन्त्र सक्रिय बनाउने भएका छन् ।

भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा सहमति कार्यान्वयनको स्पष्ट खाका तय गरिएको छ ।

भिजन डकुमेन्टअनुसार नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाउने निर्णय दुवै देशका प्रधानमन्त्रीले गर्नुभएको हो ।

सहमतिको बुँदा नम्बर ६ अनुसार अनुगमन समूहको बैठक कम्तीमा छ महिनामा एकपटक बस्नेछ । समूहले संयुक्त भिजन डकुमेन्टमा समेटिएका परियोजना, विचार र पहलहरूको शीघ्र कार्यान्वयन सुनिश्चित गर्नुका साथै आवश्यक सरकारी स्वीकृति तथा अनुमति प्राप्त गर्न सहजीकरण गर्नेछ ।

त्यस्तै, बुँदा नम्बर ७ मा अनुगमन समूहले आफ्नो कार्यप्रगति प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने नेपाल–भारत संयुक्त आयोगसमक्ष पेस गर्ने व्यवस्था गरिएको छ ।

नेपाल–भारत संयुक्त आयोगको आगामी बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णयसमेत भएको छ । साझा दृष्टिकोणलाई ठोस उपलब्धिमा बदल्न दुवै देशका अधिकारीलाई निर्देशन दिइएको छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहकार्य प्याकेज, काण्डला र पारादीप बन्दरगाहसम्म पहुँच, पञ्चेश्वर तथा तल्लो अरुण जलविद्युत् आयोजना, एकीकृत जाँच चौकी (आईसीपी), रेल सञ्जाल विस्तार, नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना र आठवटा समझदारीपत्रलगायतका विषयमा सहमति भएको थियो ।

विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिलाइ हुने प्रवृत्ति दोहोरिन नदिन यसपटक समयसीमासहितको अनुगमन कार्यविधि तय गरिएको हो ।

कार्यान्वयनमा निगरानी किन आवश्यक ?

नेपाल–भारत सम्बन्धका जानकार तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका पूर्वसदस्य महेन्द्र पी. लामाले विगतका सम्झौता कार्यान्वयन नहुनु दुई देशबीच अविश्वास बढ्नुको प्रमुख कारण रहेको बताउनुभएको छ ।

अनलाइनखबरसँगको कुराकानीमा उहाँले सम्झौतामा हस्ताक्षर भएपछि त्यसको कार्यान्वयनको निगरानी कसले गर्ने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार नेपाल–भारतबीच धेरै सम्झौता भए पनि कतिपय बीचमै रोकिएका छन् भने कतिपय कार्यान्वयन नै हुन सकेका छैनन् । केही सम्झौता कार्यान्वयन सुरु भएजस्तो मात्रै देखिएको उहाँको भनाइ छ ।

सरकारी प्रक्रियागत ढिलासुस्ती हटाउन उच्च राजनीतिक तथा प्रशासनिक तहबाट नियमित निगरानी हुनुपर्ने उहाँले बताउनुभयो ।

लामाले महाकाली, पञ्चेश्वर र रेल्वेसम्बन्धी सम्झौता वर्षौँदेखि अघि बढ्न नसकेको उदाहरण दिँदै संस्थागत अनुगमन आवश्यक रहेको औँल्याउनुभयो । संयुक्त आयोगका बैठकमा छलफल र विवादमै लामो समय बित्ने गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा उच्च सरकारी अधिकारीको तहबाट नियमित र प्रभावकारी निगरानी हुनुपर्नेमा जोड दिनुभयो ।

उच्चस्तरीय निगरानी प्रभावकारी नभए विगतमा जस्तै सम्झौता कार्यान्वयनमा ढिलाइ र विवाद दोहोरिन सक्ने उहाँको भनाइ छ ।