जनता टाइम्स

७ मंसिर २०८३, सोमबार १४:१८

नेपाल र भारतबीचको विश्वास हिमालजस्तै अग्लो होस्, सम्बन्ध नदीजस्तै निरन्तर बगिरहोस् : प्रधानमन्त्री साह


काठमाडौं, मंसिर ७ । नेपालका प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीचको आपसी विश्वास हिमालजस्तै अग्लो र दुई देशबीचको सम्बन्ध नदीजस्तै निरन्तर प्रवाहित भइरहोस् भन्ने कामना गर्नुभएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री साहले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

एक विश्वसनीय छिमेकीका रूपमा भारतले अप्ठ्यारो परिस्थितिमा नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री साहले भारतप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “एक विश्वसनीय छिमेकीको रूपमा भारतले अप्ठ्यारो परेको बेला सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दछु।”

भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री साहले ती सहमतिले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको सम्बन्ध मात्र नभई साझा इतिहास, विश्वास र सहकार्यमा आधारित रहेको छ। बदलिँदो विश्व परिवेशमा दुवै देशले आपसी सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।

जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीलाई दुवै देशले संयुक्त रूपमा सामना गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री साहले यस क्षेत्रमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेल सेवाको शुभारम्भ गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रा पुर्खाले स्थापित गरेको जगलाई बलियो बनाएर हामीले आज अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका छौँ।”

नेपालको आर्थिक विकास र समृद्धिका लागि भारतीय लगानी तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी गर्न स्वागत गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो साझा आर्थिक उन्नतिका लागि भारतीय उद्योगीहरूलाई नेपालमा स्वागत गर्दछौँ। हाम्रा दुई मुलुकको समृद्ध भविष्यका लागि हामीले मिलेर काम गर्नुपर्नेछ।”

नेपाल र भारतबीचको सम्बन्धलाई अझ विश्वासिलो, सुमधुर र दीर्घकालीन बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री साहले पत्रकार सम्मेलनमा देशबीचको सम्बन्धका लागि सुन्दर कामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल र भारतबीचको विश्वास हिमालजस्तै अग्लो होस्, हाम्रो सम्बन्ध नदीजस्तै निरन्तर बगिरहोस्।”