काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल भइरहेको छ। भेटवार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै दुवै देशबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ।
यसअघि सोमबार बिहान प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। त्यसलगत्तै उहाँले राजघाट पुगेर महात्मा गान्धीप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
भ्रमणको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ।
भारत भ्रमणका क्रममा तय भएका उच्चस्तरीय भेटवार्ता तथा अन्य कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे स्वदेश फर्कनका लागि भारतबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह आइतबार भारत पुग्नुभएको थियो। भ्रमणको पहिलो दिन उहाँले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो।
प्रधानमन्त्री शाहको यस राजकीय भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्