जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ११:२९

ग्लोबल वार्मिङको उच्च जोखिममा नेपाल, हिमाली क्षेत्रको भविष्य संकटमा : मन्त्री भरत केसी


चरिकोट (दोलखा), मङ्सिर ७ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले नेपाल विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) को उच्च जोखिममा रहेको बताउँदै जलवायु परिवर्तनका असरप्रति सबैलाई संवेदनशील बन्न आग्रह गर्नुभएको छ।

दोलखा सदरमुकाम चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसमा आयोजित ‘हिमालयमा सामाजिक–आर्थिक परिवर्तन र दिगोपना’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री केसीले जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रदेखि तल्लो भूभागसम्म गम्भीर रूपमा देखिन थालेको बताउनुभएको हो। ग्लोबल वार्मिङको असर ‘कि माथि शिरमा छ, कि तलतिरमा छ’ भन्दै उहाँले नेपालको भौगोलिक अवस्थाका कारण जलवायु परिवर्तनको जोखिम झनै संवेदनशील रहेको उल्लेख गर्नुभयो। विश्वका आठ अग्ला हिमाल, हिमनदी र हिमताल रहेको नेपालमा तापक्रम वृद्धि हुनु मुलुकको भविष्यका लागि गम्भीर चुनौती भएको उहाँको भनाइ थियो।

नेपालले विश्वव्यापी तापक्रम वृद्धि गराउन नगण्य भूमिका खेले पनि ठूला औद्योगिक राष्ट्रबाट उत्सर्जित हरितगृह ग्यासको असर नेपालजस्ता हिमाली तथा होचा भूभाग भएका मुलुकले भोग्नुपरेको मन्त्री केसीले बताउनुभयो।

नेपालभित्रै पनि बागमती प्रदेश जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकार यस विषयमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्नुभयो। हिमाली वातावरणमा देखिँदै गएको परिवर्तन तथा त्यहाँका बासिन्दाले भोगिरहेका आर्थिक, सामाजिक र सांस्कृतिक समस्याबारे सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मङ्सिर ४ गते शुक्रबारदेखि सुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो। सम्मेलनमा नेपालसहित भारत, ब्राजिल, जापान, अस्ट्रेलिया, फ्रान्स, पोल्यान्ड र रोमानियालगायत १२ देशका विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो । सम्मेलनमा दर्ता भएका ८५ कार्यपत्रमध्ये ६८ वटा प्रस्तुत भएका थिए।