जनता टाइम्स

७ मंसिर २०८३, सोमबार १८:०१

मोदीसँगको वार्तापछि प्रधानमन्त्री बालेनको सम्बोधन : नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल


काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको बताउनुभएको छ ।

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधार भएको बताउनुभयो ।

उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई शब्दको सीमिततामा बाँध्न नसकिने उल्लेख गर्दै प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले सहयोग गर्दै आएकोमा भारतीय सरकार र जनताप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र समयसापेक्ष बनाउने उद्देश्यले द्विपक्षीय सम्बन्धका विविध पक्षमा गहन छलफल भएको उहाँले जानकारी दिनुभयो । त्यसक्रममा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यास गरिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री शाहले दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”

उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चिरस्थायी सम्बन्धको जगमा भविष्यका लागि बलिया आधार निर्माण गर्नुपर्ने बताउनुभयो । स्वच्छ जलका स्रोत हिमालयले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध भगवान् राम र माता जानकीको पावन युगदेखि ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवा शुभारम्भ गरिएको बताउनुभयो ।

पुर्खाले स्थापित गरेको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुसार रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उहाँको भनाइ थियो । यसबाट नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने जिम्मेवारी दुवै देशको रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शाहले साझा आर्थिक समुन्नतिका लागि भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्नुभयो । नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने र नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने उहाँको धारणा थियो ।

उहाँले दुवै देशको समृद्ध भविष्यका लागि संयुक्त भिजन डकुमेन्ट र संयुक्त प्रेस विज्ञप्तिमार्फत साझा उपलब्धि प्रस्तुत गरिने जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो । साथै, भारतीय नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण गर्न आग्रह गर्नुभयो ।

अन्त्यमा उहाँले नेपाल–भारतबीचको मित्रतामा विश्वास हिमालझैँ अग्लो, सहकार्य नदीझैँ अविरल र दुवै राष्ट्रको समृद्धि साझा आकाशमुनि फक्रियोस् भन्ने कामना गर्नुभयो ।