जनता टाइम्स

७ मंसिर २०८३, सोमबार १७:५८

बालेनको जोड– भारतसँगका समझदारीको प्रतिफल किसानका खेतदेखि युवाको रोजगारीसम्म देखिनुपर्छ


काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच भएका समझदारी तथा अघि बढाइएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले दुई देशबीचका समझदारीको उपलब्धि किसानका खेतमा समृद्धि, युवाका हातमा रोजगारी र विद्यार्थीका सपनामा नयाँ अवसरका रूपमा देखिनुपर्ने बताउनुभयो ।

नेपाली भाषामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”

प्रधानमन्त्री शाहले पुर्खाले स्थापित गरेको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई समयको आवश्यकताअनुसार रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताउनुभयो । नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने जिम्मेवारी दुवै देशको रहेको उहाँको भनाइ थियो ।

उहाँले प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा छलफल भएको र विभिन्न क्षेत्रमा समझदारी हुनुका साथै पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्यास गरिएको जानकारी दिनुभयो ।

भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धको ऐतिहासिक आधारलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच गहन, सार्थक र दूरगामी छलफल भएको पनि उहाँले बताउनुभयो ।

नेपाल–भारत सम्बन्ध भगवान् राम र माता जानकीको पावन युगदेखि ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सम्बन्धलाई थप जीवन्त बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिएको बताउनुभयो ।

उहाँले साझा आर्थिक समुन्नतिका लागि भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्दै नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । साथै, दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल बगोस् भन्ने कामना गर्दै दुवै राष्ट्रको समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।