सुर्खेत, मंसिर ८ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेल आजदेखि सुरु हुँदै छन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार खेल दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा सुरु हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी तथा सहभागी टोलीको आवास व्यवस्थापनलगायतका चुनौतीलाई ध्यानमा राख्दै केही खेल निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन गर्ने निर्णय गरेपछि पुरुष फुटबलबाट प्रतियोगिताको प्रतिस्पर्धा सुरु हुन लागेको हो ।
कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि सोमबार कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुदलाई औपचारिक रूपमा स्वागत गरेको थियो । बाजागाजा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा सुर्खेतमा बृहत् र्याली निकालेर प्रतियोगिताको स्वागत गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्