जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार ०८:१३

प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बाँस्कोटाको टिप्पणी : सिमाविवाद त संसदमै बिर्को लाएर गाथे, ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ


काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रश्न उठाउनुभएको छ। 

उहाँले भ्रमणका क्रममा प्लाइउड र चिया निर्यातको विषय ओझेलमा परेको, सीमा विवादबारे ठोस उपलब्धि नदेखिएको तथा विकासका नाममा लिइने ऋणको विषयलाई पनि गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका सहमतिमध्ये हवाई रुटसम्बन्धी सम्झौतालाई भने सकारात्मक रूपमा लिनुभएको छ। उहाँले भ्रमणका उपलब्धिहरूको विस्तृत अध्ययन र विश्लेषण आवश्यक रहेको औँल्याउनुभएको छ।

बाँस्कोटाले फेसबुकमा लेख्नुभएको छ, ‘प्लाइउड र चिया निर्यात त छायाँमा परेछन्। सिमाविवाद त संसदमै बिर्को लाएर गाथे। ब्याज पाएपछि ऋण जुन साहुले पनि दिन्छ। भिजन पत्र त भैँसी बेचेको रकम उठाउने माघे भाका जस्तै हो। हवाई रुट सम्झौता राम्रो भयो। विज्ञहरूले केस्रा केलाउनुपर्ने हो– हेरौँ।’

उहाँको यो टिप्पणी प्रधानमन्त्री शाहको दुईदिने भारत राजकीय भ्रमण सम्पन्न भएपछि आज सार्वजनिक भएको हो। प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग मंसिर ७ गते नयाँदिल्लीमा द्विपक्षीय वार्ता गर्नुभएको थियो। भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहमति हुनुका साथै संयुक्त दृष्टिपत्र र संयुक्त वक्तव्यसमेत जारी गरिएको थियो ।