काठमाडौँ, मङ्सिर १० । नेकपा एमालेको राजधानी प्रदेश कमिटीले नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेको छ।
राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालले प्रेस विज्ञप्ति जारी गर्दै २०८३ असोज ८ गते सरकारले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरी नेपाल राजपत्रमा प्रकाशित गरेको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको हो।
विज्ञप्तिमा उक्त निर्णयले नेवार समुदायको जातीय परम्परा, भाषा, मातृभाषा र संस्कृतिको अवमूल्यन गरेको भन्दै आपत्ति जनाइएको छ। निर्णयको विरोध गर्दै सम्बन्धित सूचीबाट आफ्ना थर हटाउन नेवार समुदायले माग गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका अगुवा, संस्कृतिविद् तथा बुद्धिजीवीहरूको राय, सल्लाह र सुझावलाई ध्यानमा राखेर सम्बन्धित समुदायसँग परामर्श गर्न सरकारसँग माग गरेको छ।
समुदायको सहमतिका आधारमा निर्णय लिनुपर्ने उल्लेख गर्दै एमालेले हालको सूचीकरण तत्काल खारेज गरी आवश्यक परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।













प्रतिक्रिया दिनुहोस्