जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार १८:२०

प्रचण्डको टिप्पणी : बालेनको भारत भ्रमण मेरोजत्तिको पनि भएन


काठमाडौँ, मङ्सिर १० । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा मात्रै लिनुपर्ने बताउनुभएको छ। उहाँले भ्रमणलाई ऐतिहासिक र विशिष्ट उपलब्धिका रूपमा चित्रण गर्नु अतिरञ्जना भएको टिप्पणी गर्नुभएको छ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री भारत जानु र भारतीय समकक्षीसँग छलफल गर्नु स्वाभाविक प्रक्रिया भएको बताउनुभयो। तर भ्रमणबाट कुनै नयाँ र ठूलो उपलब्धि हासिल भएको भन्न नमिल्ने उहाँको भनाइ थियो।

‘मैले हेर्दाखेरि यो सामान्य र नियमित भ्रमणको रूपमा बुझेको छु। एउटा विशिष्टता जस्तो कोही–कोहीले भन्न खोजेका छन्– उत्पात भयो, इतिहास बन्यो, यो सही होइन। एकपटक प्रधानमन्त्री जानुपर्थ्यो र गएपछि केही विषयमा छलफल हुनु स्वाभाविक हो। नयाँ र ठूलो काम भयो भन्न मिल्दैन,’ उहाँले भन्नुभयो।

आफू प्रधानमन्त्री रहेका बेला गरेको आधिकारिक भारत भ्रमणका क्रममा उठाइएका विषयको स्तरमा समेत प्रधानमन्त्री शाहको भ्रमण पुग्न नसकेको प्रचण्डको दाबी छ।

आफ्नो भ्रमणका क्रममा हवाई रुट, विद्युत् व्यापार र सीमा समस्याका विषयमा छलफल भएको स्मरण गराउँदै उहाँले अहिलेको भ्रमणमा ती विषयमा अपेक्षित प्रगति नदेखिएको बताउनुभयो।

सीमा समस्याबारे आफ्नो भ्रमणका क्रममा आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमै छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले स्मरण गर्नुभयो। भैरहवाको हवाई रुट तथा नेपालगञ्ज र धनगढीसम्बन्धी विषय पनि त्यतिबेलै उठाइएको भए पनि अहिले तात्विक प्रगति नभएको उहाँको भनाइ थियो।

‘अहिले सैद्धान्तिक रूपले भयो भन्दा बढी भएको मैले तात्विक रूपमा देखेको छैन,’ उहाँले भन्नुभयो।

यद्यपि, प्रधानमन्त्री शाह भारत जानु र भारतीय समकक्षीसँगको सम्बन्ध सुमधुर देखिनुलाई भने सकारात्मक रूपमा लिनुपर्ने प्रचण्डले बताउनुभयो।

‘तैपनि प्रधानमन्त्री भारत जानुपर्थ्यो, जानुभयो। मोदीजीसँग राम्रै अङ्कमाल गरेर आउनुभएको छ, त्यसलाई चाहिँ मैले फेरि सकारात्मक रूपले नै हेर्नुपर्छ,’ उहाँले भन्नुभयो।