काठमाडौँ, मङ्सिर १० । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाह पनि सत्ताका लागि भारतसँग झुकेको आरोप लगाउनुभएको छ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शाहले पनि विगतका शासकहरूकै शैलीमा सत्ता स्वार्थका लागि भारतसँग सम्झौता गरेको आरोप लगाउनुभयो।
उहाँले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमलाई नेपालको विकास तथा पूर्वाधार योजनासँग जोड्ने विषयप्रति आपत्ति जनाउनुभयो। नेपालको विकासको खाका नेपाली आवश्यकता, संविधान र राष्ट्रिय हितअनुसार तय हुनुपर्ने उहाँको भनाइ छ।
भारतबाट प्रस्तावित साझेदारीको पुनःपरिकल्पनासम्बन्धी दस्तावेजले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको दाबी गर्दै उहाँले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभयो।
रावलले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो। प्रधानमन्त्री शाहको भारत भ्रमणपछि भारतले प्रतिवेदनको औचित्य समाप्त भएको घोषणा गरेको उल्लेख गर्दै उहाँले यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताउनुभयो।
दुई देशको सहमतिमा गठन भएको ईपीजीले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदन नेपाली जनताले थाहा पाउनुपर्ने उहाँको भनाइ छ। नेपालतर्फका समूह संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन परराष्ट्रमन्त्रीलाई बुझाइसकेको भए पनि सरकारले सार्वजनिक गर्न हिच्किचाएको उहाँको आरोप छ।
प्रतिवेदन सार्वजनिक नगर्नुमा राजनीतिक स्वार्थ हुन सक्ने आशङ्का व्यक्त गर्दै उहाँले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको विषयलाई ओझेलमा पार्न खोजिएको बताउनुभयो।
उहाँले नेपाल–भारत सम्बन्धमा रहेका असमान सन्धि तथा सम्झौताबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न पनि माग गर्नुभयो। साथै, ईपीजी प्रतिवेदन र पछिल्ला घटनाक्रमबारे नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू मौन बसेको भन्दै प्रश्न उठाउनुभयो।
विशेषगरी ईपीजी गठन भएको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहेको स्मरण गराउँदै उहाँले भारतले प्रतिवेदनको औचित्य समाप्त भएको बताउँदा एमाले नेतृत्वको धारणा के हो भन्ने प्रश्न गर्नुभयो।
लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपाली भूभाग तथा असमान सन्धि सम्झौताका विषयमा विगतमा आवाज उठाउने नेताहरूले अहिले पनि स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उहाँको माग छ। सत्ता स्वार्थका लागि राष्ट्रिय महत्त्वका विषयमा सम्झौता गर्ने प्रवृत्ति अहिले पनि दोहोरिएको उहाँको आरोप छ।













प्रतिक्रिया दिनुहोस्