जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार १८:२८

खर्च जोगाउने नाममा प्रदेश निर्वाचन अगाडि सार्न मिल्दैन : अध्यक्ष ओली


काठमाडौँ, मङ्सिर १० । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खर्च जोगाउने नाममा प्रदेश निर्वाचन अगाडि सार्ने प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ। निर्वाचन अगाडि सार्ने नै भए आगामी मङ्सिरमै सङ्घीय निर्वाचन पनि गर्नुपर्ने उहाँको तर्क छ।

बिहीबार काठमाडौँमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले स्थानीय तहको निर्वाचन वैशाखको अन्त्यमा र प्रदेश निर्वाचन मङ्सिरमै हुनुपर्ने बताउनुभयो। निर्वाचनको मिति कसैको आदेश वा दबाबमा परिवर्तन गर्न नहुने उहाँको भनाइ थियो।

‘अहिले प्रदेशको चुनाव अगाडि सार्ने कुरा भइरहेको छ, खर्च जोगाउने नाउँमा । देश जलाउँदा खर्च नहुने, खर्च हुन्छ भनेर चुनाव नगर्ने पनि हुन्छ ? पपेट सरकार बनाउन खर्चको हिसाब नहुने ? आफ्नो कार्यकाल पूरा नगरी प्रदेशको चुनाव अगाडि सार्ने कुरा मान्य हुँदैन। त्यसो हो भने मङ्सिरमा केन्द्रको पनि गरौँ,’ ओलीले भन्नुभयो।

ओलीले आगामी स्थानीय तहको निर्वाचनमा गत फागुन २१ गतेको परिस्थिति नदोहोरिने दाबी गर्नुभयो। राजनीतिक परिस्थिति बदलिएको उल्लेख गर्दै उहाँले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो।

‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देखेजस्तो सधैँ फागुन २१ को जस्तो हुँदैन। परिस्थिति बदलिएको छ,’ उहाँले भन्नुभयो, ‘तर चुनाव फ्री एन्ड फेयर (स्वतन्त्र र निष्पक्ष) होस्, अस्तिको जस्तो होइन।’