जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार १९:०६

केपी ओलीको चेतावनी : वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनैपर्छ, संविधान मिच्ने छुट कसैलाई छैन


काठमाडौं, मंसिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताउनुभएको छ। उहाँले संविधान र कानुनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राख्नुभएको छ।

राजधानीमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटघाटमा अध्यक्ष ओलीले निर्वाचन खर्चिलो हुने बहानामा संविधानले निर्धारण गरेको निर्वाचन प्रक्रिया र जनप्रतिनिधिको कार्यकालमाथि हस्तक्षेप गर्न नहुने बताउनुभयो। उहाँले संविधान मिच्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो।

प्रदेशसभाको निर्वाचन मध्यावधि नभएको अवस्थामा त्यसको आफ्नै संवैधानिक प्रक्रिया हुने उल्लेख गर्दै ओलीले निर्वाचन खर्चको विषयलाई आधार बनाएर चुनाव टार्न नमिल्ने जिकिर गर्नुभयो। ‘प्रदेशको मध्यावधि हुन लागेको हो र ? मध्यावधि होइन भने त्यसको आफ्नो प्रक्रिया हुन्छ नि। लोकतन्त्रमा चुनाव गराउँदा खर्च भयो भन्ने कुरालाई कहाँ पुर्‍याउँला? १५–१६ अर्ब खर्च हुन्छ रे, त्यसो भए सरकार छँदै छ, किन चुनाव गराउने, खर्च बेकार भन्ने ?’ उहाँले प्रश्न गर्नुभयो।

उहाँले देशमा अन्य काममा ठूलो खर्च हुँदा प्रश्न नउठाउने तर निर्वाचन गराउनुपर्ने बेला खर्चको बहाना बनाउनु उचित नभएको टिप्पणी गर्नुभयो। २०८४ सालमा हुनुपर्ने निर्वाचन यसअघि नै गराइएको प्रसङ्ग उल्लेख गर्दै ओलीले निर्वाचन खर्चकै कारण देखाएर जनप्रतिनिधिको कार्यकाल छोट्याउन नमिल्ने बताउनुभयो। ‘०८४ मा हुनुपर्ने चुनाव अस्ति किन गर्न परेको थियो त ? खर्च हुन्थ्यो भने त सुशीला कार्कीको सरकारलाई ०८४ सम्म चल्न दिएको भए हुन्थ्यो नि,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले देश संविधान र कानुनअनुसार चल्नुपर्ने उल्लेख गर्दै कुनै व्यक्ति वा सरकारको इच्छाअनुसार निर्वाचनको मिति र संवैधानिक प्रक्रियामा हेरफेर गर्न नहुने बताउनुभयो।

निर्वाचन खर्च घटाउने विकल्पका रूपमा उहाँले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक आगामी मंसिरमा गराउन प्रस्तावसमेत गर्नुभयो। स्थानीय तहको निर्वाचन भने वैशाखमै हुनुपर्ने उहाँको भनाइ छ। ‘देश कसैको हुकुमबाट चल्दैन। वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पटक–पटक चुनाव गराउँदा खर्च हुन्छ भने प्रदेश र संघको चुनाव एकैपटक हुने गरेकै छ, मंसिरमा गरौँ न। एकैपटक गराउँदा पाँच वर्षका लागि भइहाल्थ्यो। पहिले पनि गरेकै थियो, अब पनि खर्च जोगाउन प्रदेश र संघको एकैपटक गरौँ।’

आफ्नो कार्यकाल पूरा गर्नुपर्ने तर अरू निर्वाचित जनप्रतिनिधिको कार्यकालबारे फरक व्यवहार गर्न नहुने भन्दै ओलीले प्रश्न गर्नुभयो, ‘आफ्नो चाहिँ पूरै कार्यकाल चल्नुपर्ने, अरूको नभए पनि हुने ?’