जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार २०:१५

वैकल्पिक आवास सुनिश्चित नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति


काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गर्दै निर्णयप्रति गम्भीर आपत्ति जनाएको हो ।

कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको, महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको भन्दै सरकारको आलोचना गरेको छ ।

राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई आश्रय दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै कांग्रेसले उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु मानवीय संवेदनाविपरीत भएको जनाएको छ ।

कांग्रेसले विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ ।

बैठकले होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।

मंसिर ८ गतेदेखि सुरु भएको बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक शुक्रबार मंसिर ११ गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ ।