काठमाडौं, मंसिर १० । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले आगामी मंसिर १३ देखि २० गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिनेदेखि देशव्यापी प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघका अनुसार समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको, सञ्चारमाध्यममा अनधिकृत रूपमा अवरोध सिर्जना गरिएको तथा पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलन गर्नुपरेको हो ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यममा पत्रकारमाथि गरिएको व्यवहार, श्रम अधिकारको उल्लंघन, लोककल्याणकारी विज्ञापनबापत पत्रकारिता क्षेत्रले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध नगराइएको लगायतका विषयमा पनि महासंघले असन्तुष्टि जनाएको छ ।
वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले उदासीन व्यवहार देखाएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
महासंघले आन्दोलनको पहिलो चरण देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । तर, सरकारले आन्दोलनका माग सम्बोधन गर्न संवाद र सहमतिको पहल नगरेको भन्दै अब राजनीतिक दलहरूमार्फत सरकारलाई दबाब दिने उद्देश्यले दोस्रो चरणका कार्यक्रम घोषणा गरिएको महासंघले जनाएको छ ।
घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : राज्यपक्षको सरकारको सुन्ने, सत्ताधारी दलले सुनिदिने’ भन्ने नारासहित एक घण्टा धर्ना दिइनेछ ।
त्यसैगरी, मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिष्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित एक–एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।
यसैगरी, मंसिर २० गते कालो झण्डा, कालो पट्टी र कालो मास्क लगाएर काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा प्रदर्शन गरिने महासंघले जनाएको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत जिल्ला शाखाले जिल्ला समितिमार्फत, प्रदेश समितिले प्रदेश समितिमार्फत तथा काठमाडौं उपत्यकाका जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय समितिले केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि १२ बजेसम्मका कार्यक्रम सञ्चालन गर्नेछन् ।
महासंघले आफ्ना मागप्रति राजनीतिक दलहरूले लिखित रूपमा ऐक्यबद्धता जनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त नगरेसम्म सम्बन्धित दलका कार्यालयमा धर्ना नदिइने स्पष्ट पारेको छ । माग सम्बोधन नभए आन्दोलनको तेस्रो चरणका कार्यक्रमसमेत सञ्चालन गरिने महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्