जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार २१:४६

दशौँ राष्ट्रिय खेलकुद : स्वर्ण पदकमा बागमती प्रदेश शीर्ष स्थानमा, पदक सङ्ख्यामा आर्मी अगाडि


सुर्खेत, मंसिर १०। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्म बागमती प्रदेश स्वर्ण पदकको आधारमा शीर्ष स्थानमा रहेको छ। बागमतीले १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी कुल २६ पदक जित्दै पदक तालिकामा अग्रता कायम गरेको हो।

कुल पदक सङ्ख्याका आधारमा भने नेपाल आर्मी क्लब सबैभन्दा अगाडि रहेको छ। आर्मीले ६ स्वर्ण, १० रजत र १३ कांस्य गरी कुल २९ पदक जितेको छ। तर स्वर्ण पदकको सङ्ख्यामा बागमतीभन्दा पछि रहेकाले आर्मी तेस्रो स्थानमा छ।

एनआरएनएले ९ स्वर्ण, ३ रजत र ३ कांस्य गरी कुल १५ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ।

त्यस्तै, नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल २७ पदक जितेको छ। कोशी प्रदेशले २ स्वर्ण जित्दै पाँचौँ स्थानमा रहँदा सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, ३ रजत र १ कांस्य गरी ५ पदकसहित छैटौँ स्थान ओगटेको छ।

प्रतियोगिताको तेस्रो दिनसम्म एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले भने पदकको खाता खोल्न सकेका छैनन्।

पदक तालिकामा स्वर्ण पदकलाई प्राथमिकता दिइने भएकाले कुल पदक सङ्ख्यामा अगाडि रहे पनि नेपाल आर्मी क्लब तेस्रो स्थानमा रहेको छ।