काठमाडौँ, मङ्सिर ११ । काठमाडौँको कालिकास्थानस्थित जनचेतना ल फर्मबाट कानुनी परामर्श लिइरहेकी सेवाग्राहीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएसनले विरोध जनाएको छ।
बार एशोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै कानून व्यवसायीको कार्यालयभित्र प्रवेश गरी कानुनी परामर्शमा रहेकी सेवाग्राहीलाई नियन्त्रणमा लिने प्रहरीको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा कानून व्यवसायीसँग परामर्श लिने सेवाग्राहीको संवैधानिक तथा कानुनी अधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरिएको छ।
कानुनी परामर्श तथा छलफल भइरहेका बेला महत्त्वपूर्ण कागजात र अभिलेख रहने संवेदनशील ल फर्ममा कानुनबमोजिम प्रवेश अनुमति नलिई सादा पोसाकका प्रहरी प्रवेश गरेको र कानून व्यवसायीहरूसँग अमर्यादित व्यवहार गरेको बारको भनाइ छ।
यस्तो कार्यले कानुनी शासन, कानून व्यवसायीको पेसागत गोपनीयता र मर्यादामाथि गम्भीर आघात पुर्याएको भन्दै बारले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
यसअघि जनचेतना ल फर्मले पनि घटनाबारे बार एशोसिएसनलाई निवेदन दिएको थियो। फर्ममा आबद्ध कानून व्यवसायीहरूका अनुसार मङ्सिर ९ गते उच्च अदालत पाटनमा मुद्दाको पेसी रहेकाले सेवाग्राही हस्तमाया बस्नेत कानुनी परामर्शका लागि फर्म पुग्नुभएको थियो।
निवेदनअनुसार बिहान करिब ११ः३० बजेदेखि एक व्यक्ति फर्मबाहिर र भित्र आवतजावत गरिरहेका थिए। दिउँसो करिब ३ः३० बजे केही व्यक्ति फर्ममा प्रवेश गरी आफूहरू सादा पोसाकका प्रहरी भएको परिचय दिँदै बस्नेतलाई पक्राउ गर्न खोजेको फर्मको दाबी छ।
पक्राउ पुर्जी माग गर्दा प्रहरीले मङ्सिर ७ गतेको पत्र देखाएको र उक्त पत्रका आधारमा पक्राउ गर्न नमिल्ने जानकारी गराउँदा पनि धम्कीपूर्ण भाषा प्रयोग गर्दै जबर्जस्ती गर्न खोजेको फर्मले जनाएको छ।
फर्मको निवेदनअनुसार साँझ करिब ६ बजे प्रहरी नायब निरीक्षक सञ्जय लामाको हस्ताक्षर रहेको पक्राउ पुर्जी रिसेप्सन अगाडिको टेबलमा उपलब्ध गराएपछि बस्नेतलाई फर्मबाटै पक्राउ गरेर लगिएको थियो।
सेवाग्राही आउनुअघि नै मुद्दाको सेवाग्राही बनेर प्रहरी कर्मचारी कार्यालयभित्र प्रवेश गरेको दाबी गर्दै फर्मले कानून व्यवसायीले आफ्नो पेसागत जिम्मेवारी निर्वाध रूपमा निर्वाह गर्न पाउने अधिकारमाथि हस्तक्षेप भएको जनाएको छ।
बार एशोसिएसनले घटनामा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग माग गरेको छ।













प्रतिक्रिया दिनुहोस्