काठमाडौँ, ११ मङ्सिर । सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिका तथा महिलाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ‘अपरेसन डिजिटल अनर’ अभियानअन्तर्गत एकै दिन देशका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौँका २६ वर्षीय आशिष तामाङ, ललितपुरका ३७ वर्षीय रोहित विक्रम राणा, भारतको बिहारका ३२ वर्षीय महमद फेसल एजाज, इलामका ३७ वर्षीय विमल दर्जी खत्री र म्याग्दीका ५६ वर्षीय दिलबहादुर मगर रहेका छन्।
त्यस्तै उदयपुरका २५ वर्षीय सुवास कार्की, सुर्खेतका ३२ वर्षीय चिरञ्जीवी सापकोटा तथा कास्कीबाट १५ र १६ वर्षका दुई किशोर पक्राउ परेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकामध्ये केहीले फेसबुकमा नक्कली खाता बनाएर अश्लील तस्बिर तथा भिडियो तयार गरी महिलाको चरित्र हत्या गर्ने गरेको खुलेको छ।
पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्