जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार ०८:०६

उमाकुण्ड प्रथम अध्यक्ष कप फागुनमा हुने, विजेताले ५ लाख पुरस्कार पाउने 


रामेछाप, मंसिर ११ । रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी फागुन महिनामा प्रथम ‘अध्यक्ष कप’ प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय खेलकुदको विकास तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। त्यसैगरी द्वितीय हुने टोलीले २ लाख रुपैयाँ र तृतीय हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

स्थानीय तहमा आयोजना हुन लागेको यस प्रतियोगिताको पुरस्कार राशि जिल्लाकै आकर्षकमध्ये एक मानिएको छ। गाउँपालिकाले खेलकुद क्षेत्रको विकास, युवाको प्रतिभा प्रस्फुटन तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकासमा अध्यक्ष कपले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

प्रतियोगितामार्फत गाउँपालिकाभित्र रहेका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई जिल्लादेखि राष्ट्रियस्तरसम्म स्थापित हुन प्रेरित गर्ने लक्ष्य राखिएको छ।

प्रथमपटक आयोजना हुन लागेको अध्यक्ष कपमा कुन-कुन खेल विधा समावेश गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ। वडास्तरीय वा पालिकास्तरीय रूपमा प्रतियोगिता सञ्चालन गर्ने तथा खेल विधा र प्रतिस्पर्धाका नियमबारे गाउँपालिकाले छिट्टै विस्तृत कार्यतालिका र नियमावली सार्वजनिक गर्ने जनाएको छ।

फागुनमा सञ्चालन हुने अध्यक्ष कपलाई उमाकुण्ड गाउँपालिकाको खेलकुद विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ।