जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार ०७:५४

वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन् : मन्त्री सोविता गौतम


काठमाडौं, मंसिर ११ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न नीतिगत तथा प्रक्रियागत सुधारसँगै नागरिकलाई सही सूचना र जानकारी प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ।

उहाँले आफू राजनीतिमा प्रवेश गरेदेखि नै नागरिकबाट सबैभन्दा धेरै सुनिएका गुनासाहरूमध्ये वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि एक रहेको उल्लेख गर्दै यस समस्याको समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको हो।

मन्त्री गौतमका अनुसार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको नेतृत्वमा वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन्।  “यस क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूको नेतृत्वमा विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन्”, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । 

नीतिगत र प्रणालीगत सुधारले मात्रै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न पर्याप्त नहुने उहाँको भनाइ छ। नागरिकलाई सही प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले औँल्याउनुभएको छ। “प्रणाली सुधारेर मात्र पुग्दैन, नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक छ,” मन्त्री गौतमले भन्नुभएको छ।

वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अपनाउने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने विषयमा स्पष्ट जानकारी समुदायस्तरसम्म पुर्‍याउनुपर्ने उहाँको धारणा छ। यसै उद्देश्यले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य गरी विशेष पहल अघि बढाउन लागिएको पनि मन्त्री गौतमले जानकारी दिनुभएको छ। उहाँले भन्नुभएको छ, “यसै उद्देश्यका साथ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा एउटा विशेष पहल लिएर छिट्टै आउँदै छौँ।”

सरकारको उक्त पहलले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सही सूचना प्राप्त गर्न, सम्भावित ठगीबाट जोगिन र समस्या परेको अवस्थामा सम्बन्धित निकायसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ।