जनता टाइम्स

१३ मंसिर २०८३, आइतबार १३:२४

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंले दियाे घण्टीघरमा धर्ना


काठमाडौं, मंसिर १३ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले राजनीतिक दलका कार्यालयमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

महासंघले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालय घण्टीघर अगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरूले धर्ना दिएका छन् ।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममाथि अवरोध पुर्‍याउनेहरूमाथि कारबाही नगरिएको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारमाथि भएका धरपकड, सञ्चारमाध्यममाथिको हस्तक्षेप र प्रेस स्वतन्त्रतामाथि देखिएका चुनौतीविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको प्रमुख एजेन्डा बनाएको छ ।

महासंघले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज रास्वपा कार्यालयमा धर्ना दिएपछि भोलि नेपाली कांग्रेस, पर्सि नेकपा एमाले, मंसिर १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा एकैसाथ विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त प्रदर्शनमा सहभागी पत्रकारहरूलाई कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर उपस्थित हुन आह्वान गरिएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि महासंघले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।