काठमाडौं, १३ मंसिर । बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी निकाय डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनमाथि ठूलो साइबर आक्रमण भएको छ ।
विभागले शनिबार साइबर आक्रमण भएको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली बन्द गर्नुपरेको जनाएको छ । बिहीबार राति पहिलोपटक पत्ता लागेको उक्त आक्रमणपछि विभागका कैयौँ सेवा अवरुद्ध भएका थिए । तीमध्ये अधिकांश सेवा शनिबारसम्म पनि सञ्चालनमा आउन सकेका थिएनन् ।
उक्त विभागले बेलायतका लाखौँ अवकाशप्राप्त नागरिक तथा सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने व्यक्तिलाई पेन्सन र विभिन्न सुविधा वितरण गर्दै आएको छ ।
आक्रमणमा संलग्न व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन । विभागका प्राविधिक टोली र साइबर सुरक्षा विज्ञहरूले घटनाबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानमा नेसनल साइबर सेक्युरिटी सेन्टर र गभर्मेन्ट साइबर कोअर्डिनेसन सेन्टरले पनि सहयोग गरिरहेका छन् ।
हालसम्म सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको कुनै प्रमाण फेला नपरेको विभागले जनाएको छ ।
बेलायतमा पछिल्लो समय साइबर सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको छ । यसअघि मासु आपूर्तिकर्ताका रेफ्रिजरेटरको तापक्रम नियन्त्रण प्रणालीमा समस्या देखिएको थियो । युरोपका सुपरमार्केटमा प्रयोग हुने सफ्टवेयर ह्याकिङको निशानामा परेपछि यस्तो समस्या आएको बताइएको थियो ।
यसै महिनाको सुरुतिर बेलायतका साइबर सुरक्षा प्रमुखले सन् २०२८ सम्ममा देशको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर साइबर आक्रमण हुन सक्ने जोखिमबारे चेतावनी दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्