काठमाडौं, मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडकमा भइरहेको पहिरो व्यवस्थापन तथा जोखिम न्यूनीकरणको काम सकिएपछि शनिबार बेलुकादेखि यातायात सञ्चालनमा आएको हो ।
मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभीरमा मंसिर ५ गतेदेखि दिउँसो सवारी आवागमन रोकेर पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने र सडक सम्याउने काम भइरहेको थियो । ती काम सम्पन्न भएसँगै सडक सहज भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घोप्टेभीर सडकखण्ड खुलेसँगै मुग्लिन–पोखरा र मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो व्यवस्थापन गर्न आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकेर पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गरिनेछ ।
उक्त समयमा काठमाडौं–मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने तथा आउने सवारीसाधनको आवागमन भने नरोकिने प्रशासनले जनाएको छ । प्रशासनले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका अनुसार यात्रा गर्न आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्