काठमाडौं, मंसिर १२ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायम राखेको छ । प्रतियोगिताको आयोजक कर्णाली प्रदेश भने अहिलेसम्म कुनै पनि पदक जित्न नसक्दा तालिकाको अन्तिम स्थानमा रहेको छ ।
बागमती प्रदेशले हालसम्म १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जित्दै शीर्ष स्थान सुरक्षित गरेको छ । त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी २० पदकसहित दोस्रो स्थान ओगटेको छ ।
नेपाली सेनाले सर्वाधिक ५० पदक जिते पनि स्वर्ण पदकको संख्याका आधारमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । सेनाले ११ स्वर्ण, २० रजत र १९ कांस्य पदक जितेको छ ।
नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्य गरी ४१ पदक जितेको छ । त्यसैगरी, गण्डकी प्रदेशले ४ स्वर्ण, १ रजत र ४ कांस्य गरी ९ पदक तथा कोशी प्रदेशले ४ स्वर्ण, १ रजत र १ कांस्य गरी ६ पदक आफ्नो नाममा लेखाएका छन् ।
सशस्त्र प्रहरी बल (एपीएफ) ले ३ स्वर्ण, १ रजत र १ कांस्य गरी ५ पदक जितेको छ । लुम्बिनी प्रदेशले २ स्वर्ण, ६ रजत र ३ कांस्य गरी ११ पदक तथा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ५ रजत र २ कांस्य गरी ९ पदक जितेका छन् । मधेश प्रदेशले भने हालसम्म २ कांस्य पदक मात्रै जितेको छ ।
घरेलु मैदानमा प्रतियोगिता आयोजना गरिरहेको कर्णाली प्रदेशको प्रदर्शन भने निराशाजनक देखिएको छ । प्रतियोगिताको पाँचौँ दिन बितिसक्दा पनि कर्णालीले कुनै पनि पदक जित्न सकेको छैन । तीनै प्रकारका पदकमा शून्य रहेको आयोजक प्रदेश पदक तालिकाको पुछारमा सीमित भएको छ ।













प्रतिक्रिया दिनुहोस्