जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार २०:२५

राज्यका सबै अंगलाई स्वार्थको आज्ञाकारी निकाय बनाइँदैछ : प्रदीप ज्ञवाली


काठमाडौं, मंसिर १२ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले प्रहरी, कर्मचारीतन्त्रलगायत राज्यका विभिन्न निकायमा कार्यरत व्यक्तिको कार्यसम्पादनभन्दा उनीहरूको व्यक्तिगत स्वार्थ पूरा भए–नभएको आधारमा व्यवहार गर्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुभयो ।

लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था भएको उल्लेख गर्दै उहाँले जनमत प्राप्त सरकारले पनि लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको पालना गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभाबाट आवश्यक कानुन निर्माण गर्न सकिने अवस्था हुँदाहुँदै सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गरिरहेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

ज्ञवालीले दण्डहीनतालाई प्रश्रय दिँदै जाने हो भने प्रत्येक १० वर्षमा हिंसा र विध्वंशमार्फत सत्ता परिवर्तन गर्ने गलत नजिर स्थापित हुन सक्ने चेतावनी दिनुभयो ।

नेपालले २४० वर्ष लामो राजसंस्थाको अन्त्य शान्तिपूर्ण आन्दोलनबाट गरेको र १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति वार्तामार्फत समाधान गरेको स्मरण गर्दै उहाँले राजनीतिक परिवर्तनका लागि शान्तिपूर्ण बाटो नै अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

निर्वाचनमार्फत आफ्नो पार्टीलाई शून्य सिटमा झारिए पनि स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै ज्ञवालीले हिंसा, तोडफोड र राष्ट्रिय सम्पत्तिमा आगजनी गरेर गरिने परिवर्तनलाई उचित ठहर्‍याउन नसकिने बताउनुभयो ।

भदौ २३ र २४ गतेका घटनाले राष्ट्रिय भावनाको आधारलाई नै प्रभावित पारेको टिप्पणी गर्दै उहाँले राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंशलाई वैधता दिन नहुनेमा जोड दिनुभयो ।