जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार २०:११

वर्तमान सरकार नागरिकका अधिकार खोस्न उद्यत रहेको प्रचण्डको आरोप


काठमाडौं, मंसिर १२ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मजदुर, किसान, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकलाई समेत सरकारले आतङ्कित पार्ने तथा दमन गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

विगतमा आफूहरू सरकार बनाउने र गिराउने राजनीतिक खेलमा अल्झिँदा राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारविरुद्ध भइरहेका गतिविधिप्रति पर्याप्त ध्यान दिन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

शान्ति सम्झौता, गणतन्त्र र समावेशिताविरोधी शक्तिहरूले योजनाबद्ध रूपमा षड्यन्त्र गरिरहेको दाबी गर्दै प्रचण्डले राज्य संयन्त्र त्यसप्रति गम्भीर हुन नसकेको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताको रक्षा र प्राप्त उपलब्धिको संरक्षणका लागि दीर्घकालीन रूपमा संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।