काठमाडौं, मंसिर १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई ‘झोले युग’बाट बाहिर निकालेर ‘फाइलको युग’मा प्रवेश गराएको बताउनुभएको छ ।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले अब पार्टीका कार्यक्रम, अधिवेशन तथा महाधिवेशनमा झोलाको सट्टा फाइल वा डायरी प्रयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।
राजनीतिक दलमा आबद्ध व्यक्तिलाई व्यंग्य गर्दै ‘झोले’ भन्ने चलन रहेको उल्लेख गर्दै लामिछानेले पछिल्लो समय रास्वपाका नेता–कार्यकर्तालाई पनि ‘खराने’ र ‘घण्टे’ भन्ने गरिएको बताउनुभयो ।
उहाँले पार्टीमा विचार, सिद्धान्त, आदर्श, नेतृत्व र नीतिप्रति विश्वास गरेर लाग्ने व्यक्तिलाई विभिन्न शब्द प्रयोग गरी होच्याउने प्रवृत्ति रहेको टिप्पणी गर्नुभयो ।
फाइल वा डायरीमा जनताका मुद्दा र गुनासा समेट्नुपर्ने उहाँको भनाइ थियो । फाइल किन्न सक्नेले आफैँ किन्ने र नसक्ने साथीलाई सहयोग गरेर उपलब्ध गराउने अभियान अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै रास्वपालाई झोले युगबाट बाहिर निकालिएको घोषणा गर्नुभयो । साथै, आगामी दिनमा ‘खराने’ र ‘घण्टे’ भन्ने भाष्यबाट पनि पार्टीलाई बाहिर निकाल्ने उहाँको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्