जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०९:५०

साउदीमा हुथीको आक्रमणमा नेपालीसहित ११ जना घाइते, दुईको अवस्था गम्भीर


काठमाडौँ, मङ्सिर ९ । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन् ।

साउदी नागरिक सुरक्षा निकायका अनुसार मंगलबार भएको आक्रमणमा साउदी, नेपाली, भारतीय र इजिप्टका नागरिक घाइते भएका हुन् । घाइतेहरूको उपचार भइरहेको छ । उनीहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ । गठबन्धनका प्रवक्ता टर्की अल–माल्कीले सामाजिक सञ्जालमार्फत वित्तीय केन्द्रस्थित टावरमा ‘कायरतापूर्ण आतंकवादी हमला’ भएको बताएका छन् ।

तीन जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणको निशानामा रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको पीआईएफ टावर परेको थियो । उक्त भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय रहेको छ ।

केही दिनको अन्तरालमा उक्त भवनमा दोस्रोपटक आक्रमण भएको हो । गत बिहीबार पनि टावरमा आक्रमण भएको थियो । समाचार एजेन्सी एएफपीलाई एक स्रोतले बताएअनुसार अघिल्लो आक्रमणबाट भएको क्षति मर्मत गर्न कामदारहरू टावरभित्रै रहेका बेला पुनः आक्रमण भएको हो ।

घाइतेमध्ये कम्तीमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । (सीएनए)