काठमाडौँ, मङ्सिर ९ । प्यान्क्रियाटिक अर्थात् अग्न्याशयको क्यान्सर उपचारमा नयाँ औषधि प्रभावकारी देखिएको छ । दैनिक सेवन गरिने डाराक्सोनरासिब नामक औषधि केमोथेरापीसँगै प्रयोग गर्दा अधिकांश बिरामीमा क्यान्सरको ट्युमर बढ्न रोकिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
बीबीसीका अनुसार बेलायतको क्यान्सर रिसर्चका विज्ञहरूले नयाँ औषधिको नतिजालाई उत्साहजनक भनेका छन् । यो औषधिले क्यान्सरको वृद्धि गराउने केआरएएस नामक जीनमा हुने निश्चित परिवर्तनलाई लक्षित गरेर काम गर्छ ।
चिकित्सकीय परीक्षणमा शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाटिक क्यान्सर भएका ६१ जना बिरामी सहभागी थिए । उनीहरूलाई नयाँ औषधिसँगै केमोथेरापी दिइएको थियो । परीक्षणमा ९० प्रतिशत बिरामीमा क्यान्सरको ट्युमर बढ्न रोकिएको र ६० प्रतिशतभन्दा बढीमा ट्युमरको आकार घटेको वा हराएको पाइएको छ ।
त्यस्तै, १२ जनामध्ये एक जनाको ट्युमर सिटी स्क्यानमा समेत देखिन छाडेको थियो । विशेषज्ञहरूले यसलाई प्यान्क्रियाटिक क्यान्सर उपचारमा दशकौँयताकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
यद्यपि, चिकित्सकहरूले यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा लिन नहुने बताएका छन् । औषधिले कति समयसम्म क्यान्सर नियन्त्रणमा राख्न सक्छ र बिरामीको आयु कति बढाउन सक्छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
प्यान्क्रियाटिक क्यान्सर प्रायः ढिलो पहिचान हुने र रोग शरीरका अन्य भागमा फैलिसकेपछि उपचार प्रभावकारी बनाउन कठिन हुने भएकाले यसका बिरामीको बाँच्ने सम्भावना कम हुने गरेको छ । यस्तो अवस्थामा नयाँ औषधिको प्रारम्भिक नतिजाले उपचारमा नयाँ सम्भावना देखाएको छ ।













प्रतिक्रिया दिनुहोस्