जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०८:२३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, स्थानीय निर्वाचनदेखि विपद् पुनर्निर्माणसम्म छलफल हुने


काठमाडौँ, मङ्सिर ९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबारदेखि सुरु भएको बैठकमा आज विभिन्न समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुने कार्यसूची छ ।

बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्नुभएको प्रस्तावित कार्यसूचीअनुसार संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनका विषयमा छलफल हुनेछ ।

संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको छ ।

त्यसैगरी, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल हुने जनाइएको छ ।

बैठकमा अन्य विविध समसामयिक विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।