जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार २०:४८

मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?


जोमसोम, मंसिर ८ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहार दिनुभएको विशेष शालिग्राम मुस्ताङको जोमसोमबाट लगिएको खुलेको छ ।

प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिनुभएको थियो । तीमध्ये भगवान् विष्णुको प्रतीक तथा स्वरूप मानिने शालिग्राम विशेष मानिएको छ । शालिग्राम नेपालको कालीगण्डकी नदीमा मात्र पाइन्छ ।

गत भदौमा सञ्चारकर्मी सन्दीप शर्मा रिजाल र राजेन्द्रप्रकाश ढकालले जोमसोम नजिकै कालीगण्डकी नदी किनारमा घुम्ने क्रममा उक्त शालिग्राम फेला पार्नुभएको थियो । अन्य शालिग्रामभन्दा फरक र विशेष आकृतिको देखिएपछि जोमसोममा व्यवसायसमेत गर्दै आउनुभएका रिजालले त्यसलाई सुरक्षित राख्नुभएको थियो ।

मोदीलाई उपहार दिने सामग्रीबारे कात्तिक अन्तिमतिर प्रधानमन्त्रीको सचिवालयमा छलफल भइरहेको थियो । सोही क्रममा सडक बोर्डका कार्यकारी समिति सदस्य अरुणकुमार श्रेष्ठ मुस्ताङ भ्रमणमा हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सचिवालयले शालिग्राम ल्याउने जिम्मेवारी श्रेष्ठलाई दिएको थियो ।

त्यसपछि श्रेष्ठले रिजालसँग सम्पर्क गरी विशेष शालिग्राम आवश्यक परेको जानकारी गराउनुभयो । रिजालले आफूसँग रहेको शालिग्राम देखाएपछि त्यसको आकृति र विशेषताबारे जानकारी लिएर प्रधानमन्त्री कार्यालयबाटै माग गरिएको थियो । श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमण हुनुभन्दा पाँच दिनअघि उक्त शालिग्राम मुस्ताङबाट काठमाडौं ल्याउनुभएको थियो ।

प्रधानमन्त्री कार्यालयमा पठाउनुअघि रिजालले शालिग्रामको धार्मिक तथा आध्यात्मिक विशेषताबारे जानकार धर्मगुरुहरूसँग परामर्शसमेत गर्नुभएको थियो ।

उक्त शालिग्राममा गणेश, शिव, विष्णु, वराह, मुक्तिनाथ मन्दिरमा स्थापित मूर्तिको स्वरूप तथा अर्धनारीश्वरलगायत सातभन्दा बढी देवीदेवताका आकृति देखिने बताइएको छ । यसमा छवटा चक्रसमेत स्पष्ट देखिने जनाइएको छ ।

सामान्यतया गोलाकार स्वरूपमा पाइने शालिग्रामभन्दा यसको बनावट फरक रहेको छ । प्राकृतिक रूपमा विभिन्न देवीदेवताका आकृति कुँदिएजस्तो देखिने भएकाले यसलाई विशेष मानिएको हो ।

शालिग्रामबारे जानकार धर्मगुरुहरूले पनि यसको बनावटलाई दुर्लभ र दिव्य प्रकृतिको बताएका छन् । शालिग्रामको छनोटमा सक्रिय पण्डित बालकृष्ण शर्माका अनुसार एउटै शालिग्राममा यति धेरै देवीदेवताका स्वरूप देखिनु दुर्लभ विशेषता हो ।

यसरी कालीगण्डकी नदी किनारमा संयोगवश फेला परेको मुस्ताङको विशेष शालिग्राम प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीका लागि उपहारका रूपमा हैदरावाद हाउस पुगेको हो ।