जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार २०:४२

अयोध्याबाट जनकपुरधाम आएको रेलको भव्य स्वागत, यात्रुले गरे धार्मिक स्थलको दर्शन


जनकपुरधाम, मंसिर ८ । भारतको अयोध्याबाट मंगलबार बिहान जनकपुरधाम आइपुगेको रेल र त्यसमा सवार भारतीय अतिथि तथा यात्रुलाई भव्य स्वागत गरिएको छ ।

मर्यादा पुरुषोत्तम भगवान् रामको जन्मभूमि अयोध्याबाट जगत्जननी सीताको माइती जनकपुरधाम आएका अतिथिलाई नेपाल सरकारका युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतले स्वागत गर्नुभएको थियो ।

स्वागतका क्रममा अतिथिहरूलाई फूलमाला लगाइएको थियो । नेपाल रेल्वेले जनकपुरधाम रेलवे स्टेसन परिसरमा स्वागत समारोह आयोजना गरेको थियो । कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन गरेका थिए भने मिथिला नाट्य कला परिषद्का कलाकारहरूले मंगलगीत र नृत्य प्रस्तुत गरेका थिए ।

भारतीय रेलमा समस्तीपुरका अतिरिक्त डिभिजनल रेलवे म्यानेजर शनी सिन्हा, वरिष्ठ डिभिजनल कमर्सियल म्यानेजर अमितेश कुमारसहित रेलवेका अधिकारी तथा कर्मचारी र अयोध्याका स्थानीय बासिन्दा सहभागी थिए ।

दुईवटा इन्जिन र १७ वटा बोगीसहितको रेल बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको थियो । रेलमा आएका अतिथि तथा यात्रुले जानकी मन्दिरमा दर्शन तथा पूजा गरेका थिए । त्यसपछि राम मन्दिर, गंगासागर र स्वर्गद्वारीलगायत धार्मिक स्थलको अवलोकन गरेका थिए ।

जनकपुरधामको भ्रमणपछि उनीहरू सोही रेलमार्फत अयोध्या फर्किएका छन् ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर रेलको उद्घाटन गर्नुभएको थियो ।

‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको उक्त रेल मंसिर १३ गते शनिबारदेखि सातामा एक दिन व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।