जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार २०:३४

पक्षघातबाट पीडित तेजबहादुर दर्जीलाई एमाले नेता रत्नप्रसाद गौतमद्वारा २० हजार रुपैयाँ सहयोग


काठमाडौं, मंसिर ८ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–२, सैपु निवासी तेजबहादुर दर्जीको उपचारका लागि नेकपा एमालेका नेता समाजसेवी रत्नप्रसाद गौतमले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

पक्षघात (प्यारालाइसिस) भएपछि काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत दर्जीको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि नेकपाका नेता देवशंकर पौडेल र एमाले नेता गौतम अस्पतालमै पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

अस्पतालमा उपचाररत दर्जीसँग भेटघाट गर्दै दुवै नेताले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सोही क्रममा नेता गौतमले उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले २० हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गर्नुभएको हो ।

दुःख र अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै गौतमले बिरामीको उपचारमा नियमित सहयोग गर्दै आउनु भएको छ । सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका गौतमले सयौँ बिरामी तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आउनुभएको छ ।