रुपन्देही, मंसिर ८ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण मुद्दा ओझेलमा परेको टिप्पणी गर्नुभएको छ ।
हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि सीमा समस्या, सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकन र नेपाली उत्पादनको भारतीय बजारमा पहुँचजस्ता विषयमा ठोस छलफल हुन नसकेको उहाँको भनाइ छ ।
प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले काठमाडौं महानगरपालिकामा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने प्रधानमन्त्रीबाट नेपाल–भारत सीमा समस्या र ऐतिहासिक सन्धिका विषयमा पहल हुने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको बताउनुभयो ।
नेपालले लामो समयदेखि उठाउँदै आएको सन् १९५० को सन्धि पुनरावलोकनको विषय भ्रमणको प्राथमिकतामा नपरेको उहाँले उल्लेख गर्नुभयो । नेपाली चिया, अलैँची र तरकारीले भारतीय बजारमा सहज प्रवेश नपाइरहेको अवस्थामा सरकारले त्यसको समाधान खोज्न नसकेको उहाँको टिप्पणी छ ।
हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि त्यसको कार्यान्वयन मुख्य विषय भएको पोखरेलले बताउनुभयो । विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भएर कार्यान्वयन नभएको स्मरण गर्दै उहाँले यसपटक पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो ।
विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्वको सरकारले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नु उसको पुरानो दृष्टिकोणमा आएको परिवर्तन भएको उहाँले टिप्पणी गर्नुभयो । भारतको एक्जिम बैंकबाट प्राप्त ऋण परिचालनमा देखिएका जटिलता र सडक निर्माणमा भएको ढिलाइले कार्यान्वयनको व्यावहारिक कठिनाइसमेत देखाएको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले वर्तमान सरकार सुशासन र विकास दुवै मोर्चामा कमजोर साबित भएको आरोप लगाउनुभयो । ‘नो लाइन’को नारा दिएर सत्तामा आए पनि सरकारी सेवा प्रवाह झन् अव्यवस्थित बनेको, विदेशिने युवाको संख्या र सेवाग्राहीको लाइन बढेको तथा लगानीको वातावरण बन्न नसकेको उहाँले बताउनुभयो ।
पुँजीगत खर्च कमजोर हुँदा विकास निर्माणले गति लिन नसकेको, भोटेकोसी बाढीबाट विस्थापितको पुनर्स्थापना तथा विपद् व्यवस्थापनमा सरकार असफल भएको र बजार मूल्यवृद्धि एवं अराजकता नियन्त्रण गर्न नसकेको उहाँको आरोप छ ।
सरकार वास्तविक समस्या समाधानभन्दा सामाजिक सञ्जालमा केन्द्रित भएको टिप्पणी गर्दै पोखरेलले सरकार सामाजिक सञ्जालमा सफल देखिए पनि जनताका सरोकार सम्बोधन गर्न असफल भएको बताउनुभयो । बढ्दो जनअसन्तुष्टि सम्बोधन नभए बंगलादेशको जस्तो अवस्था आउन सक्ने चेतावनीसमेत उहाँले दिनुभयो ।
गएको निर्वाचनमा जनताले पुराना दललाई दण्डित गरेको स्मरण गर्दै उहाँले पुराना दलले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै संकटमा पर्न सक्ने धारणा राख्नुभयो । संविधान निर्माण र लोकतन्त्र स्थापनामा भूमिका खेलेका दलहरूले जनतासँग टुटेको सम्बन्ध सुधार्न एमालेले राष्ट्रिय भेलामार्फत अभियान थालेको उहाँले जानकारी दिनुभयो ।
संविधान समय र आवश्यकताअनुसार संशोधन गर्न सकिने भए पनि संघीय लोकतन्त्रको आधारभूत संरचना कमजोर पार्ने गरी संशोधन गर्न नहुनेमा पोखरेलले जोड दिनुभयो । संसद् र राजनीतिक दललाई बेवास्ता गर्ने प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक नभएको टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीको स्वेच्छाचारिता नियन्त्रण गर्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी आफैँ संकटमा पर्न सक्ने चेतावनी दिनुभयो ।
लोकतन्त्रको रक्षाका लागि एमाले अन्य दलसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा एमाले स्पष्ट रहेको बताउनुभयो । स्थानीय तहको कार्यकाल वैशाखमा र प्रदेशसभाको कार्यकाल मंसिरमा सकिने भएकाले दुवै निर्वाचन एकैपटक गर्न सम्भव नहुने उहाँको भनाइ छ ।
स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउनु स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले निर्वाचन समयमा नभए राष्ट्रियसभा गठन, राष्ट्रपति निर्वाचन प्रक्रिया तथा संघीय लोकतन्त्रकै आधारभूत संरचनामा असर पर्न सक्ने बताउनुभयो ।
पोखरेलले आगामी स्थानीय निर्वाचनमा वामपन्थी शक्तिबीच चुनावी तालमेल हुन सक्ने संकेतसमेत गर्नुभएको छ । विगतमा माओवादीले एमाले र कांग्रेससँग गरेको चुनावी तालमेलको अनुभवबाट वामपन्थीबीच मत हस्तान्तरण र सहकार्यको आवश्यकता महसुस भएको उहाँले बताउनुभयो ।
यद्यपि, यस विषयमा औपचारिक छलफल भने नभएको उहाँले स्पष्ट पार्नुभयो । वामपन्थीबीच तल्लो तहमा तालमेल गर्दा राम्रो हुने विषय अनौपचारिक रूपमा उठेको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्