काठमाडौं, मंसिर ८ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानले उहाँको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट दायर गरेको हो ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा नियुक्ति गरिएको भन्दै अभियानले त्यसको वैधानिकतामाथि प्रश्न उठाएको छ ।
अभियन्ता अजय सोडारीका अनुसार नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्चमा रिट दायर गरिएको हो ।
रिट निवेदन अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर गरिएको सोडारीले जानकारी दिनुभएको छ । सर्वोच्च अदालतले रिटमाथि सुनुवाइका लागि बुधबार पेसी तोकेको छ ।
रिटमा आनी छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार नभएको दाबी गरिएको छ ।
मन्त्रिपरिषद्ले गत असोज ३० गते उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । उहाँले मंसिर २ गते पदबहाली गरिसक्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्