जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार १३:१६

पश्चिम नेपालमा ३० मिटर प्रतिसेकेन्डभन्दा बढी वेगको हावाहुरी, विद्यालय र घरका छाना उडायो


काठमाडौं, मंसिर ८ । पश्चिम नेपालका विभिन्न क्षेत्रमा मंगलबार बिहान एक्कासि तीव्र गतिको हावाहुरी चलेको छ । हावाहुरीका कारण गोरखा र म्याग्दीमा विद्यालय तथा घरका छाना उड्नुका साथै विद्युत् सेवा र सडकसमेत प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली भूभागमा तीव्र हावाहुरी चलेको हो । हावाको गति ३० मिटर प्रतिसेकेन्डभन्दा बढी मापन गरिएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उपल्लो वायुमण्डलमा हावाको चाप बढ्दा यस्तो अवस्था सिर्जना भएको हो । ‘गस्टी विन्ड’का कारण तीव्र हावा चलेको उल्लेख गर्दै उहाँले मध्याह्न १२ देखि १ बजेसम्ममा हावाहुरी क्रमशः कम हुँदै जाने बताउनुभएको छ ।

हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको तीन कोठे भवनको छाना उडाएको छ । वडाध्यक्ष भीमप्रसाद गुरुङका अनुसार विद्यालयको संरचनामा समेत सामान्य क्षति पुगेको छ भने आसपासका केही घरगोठमा पनि क्षति भएको छ ।

सिङ्लामा मंगलबार बिहान करिब साढे २ बजेदेखि हावाहुरी सुरु भएको थियो । बिहान ५ देखि ६ बजेसम्म तीव्र गतिमा चलेको हावा त्यसपछि केही कमजोर भए पनि निरन्तर चलिरहेको वडाध्यक्ष गुरुङले बताउनुभएको छ ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा पनि बिहान ३ बजेदेखि तीव्र गतिको चिसो हावाहुरी चलेको छ ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीले काभ्रेमा तीन र नारच्याङमा एउटा घरको छाना उडाएको छ । रुख ढलेपछि भुरुङ–तातोपानीदेखि मान्द्रेढुंगा जोड्ने सडकसमेत अवरुद्ध भएको छ ।

हावाहुरीका कारण गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत् सेवा पनि अवरुद्ध भएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ । क्षतिको थप विवरण संकलन भइरहेको उहाँको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका–३ का वडा सदस्य दुर्गादत्त सुवेदीले हावाको वेग अत्यधिक रहेकाले मानिसलाई समेत उडाउलाजस्तो महसुस भएको बताउनुभएको छ । कालीगण्डकी करिडोरको कच्ची सडक र नदी किनारको बगरमा धुलो उडेपछि अन्नपूर्ण र धौलागिरि हिमाल बादलले ढाकिएजस्तो देखिएको उहाँले बताउनुभयो ।

मौसमविद्का अनुसार यो हावाहुरी मुख्यतः हिमाली र उच्च पहाडी क्षेत्रमा सीमित रहने भएकाले काठमाडौं उपत्यकामा भने त्यही स्तरको प्रभाव पर्ने सम्भावना छैन ।