जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार १३:१९

तथ्यको कसीमा भारत भ्रमणको सार : राष्ट्रियताको मुद्दामा पुरै चुक्यो बालेन सरकार


राष्ट्रियता भाषणमा होइन, निर्णयमा देखिनुपर्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेपछि राष्ट्रिय हितका विषयमा मौन बस्नुपर्ने अवस्था आउँछ भने विगतमा गरिएका राष्ट्रवादी अडान हावा भरिएको बेलुनमा परिणत हुन्छ। भारतीय समकक्ष नरेन्द्र मोदीको धापमा रमाएर प्रधानमन्त्री बालेनले पनि आफूलाई यही सावित गर्नुभएको छ


गणेश बस्नेत

राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा राजनीतिक नेतृत्वको वास्तविक परीक्षा सत्तामा रहँदा हुन्छ । प्रतिपक्षमा हुँदा वा स्थानीय सरकारको नेतृत्व गर्दा राष्ट्रियताको पक्षमा चर्का अभिव्यक्ति दिनु एउटा कुरा हो, तर प्रधानमन्त्रीको हैसियतमा शक्तिशाली छिमेकी मुलुकसँग आमनेसामने बसेर राष्ट्रिय हितका विषय उठाउनु अर्कै कुरा हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले अहिले यही प्रश्न खडा गरेको छ । काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर चर्चामा आउनुभएका शाहले नेपालको भौगोलिक अखण्डता र लिपुलेकको स्वामित्वका विषयमा पनि पटकपटक अभिव्यक्ति दिनुभएको थियो ।

भारत र चीनबीच नेपालको भूमि लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सहमतिप्रति उहाँले सार्वजनिक रूपमा आपत्ति जनाउनुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत नेपालको भूमि अतिक्रमणको विषय चीनसँग उठाउन आग्रह गर्नुभएको थियो । तर प्रधानमन्त्री बनेर भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक वार्ता गर्न नयाँदिल्ली पुग्दा उहाँको प्राथमिकतामा त्यही राष्ट्रियताको मुद्दामा परेन । मोदीसामू सीमा विवादको शब्दसमेत निकाल्न नसकेर दुईतिहाइको सरकार हुतिहार सरकारमा परिणत भएको देखियो ।

मंसिर ६ र ७ गते अर्थात नोभेम्बर २२ देखि २३ सम्म भएको दुईदिने राजकीय भ्रमणपछि सार्वजनिक भएका संयुक्त वक्तव्य, भारतीय विदेश मन्त्रालयको अभिव्यक्ति र सञ्चारमाध्यममा प्रकाशित विवरणले एउटा असहज तथ्य उजागर गर्यो, ‘नेपालले लामो समयदेखि उठाउँदै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवादमा दुई प्रधानमन्त्रीबीच कुनै छलफल नै भएन, नेपालले कुरै उठाएन ।’

भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री शाहको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा लिपुलेकको विषय दुई पक्षबीचको वार्तामा नउठेको स्पष्ट पार्नुभयो । भारतको यो अभिव्यक्तिले भ्रमणलाई ऐतिहासिक र उपलब्धिमूलक भनेर प्रस्तुत गर्ने परराष्ट्रमन्त्री शिशिर खनालको बिमानस्थलको दावीमाथि गम्भीर प्रश्न खडा गरेको छ । प्रश्न भारतले आफ्नो अडान किन राख्यो भन्ने होइन । प्रश्न नेपालका प्रधानमन्त्रीले नेपालको अडान किन राख्न सकेनन ? भन्ने हो ।

पहिले ग्रेटर नेपालको नक्सा तर भारतमा मौनता

बालेन्द्र शाहको राजनीतिक छवि अन्य परम्परागत नेताहरूभन्दा फरक थियो । उहाँले राष्ट्रिय स्वाभिमान, सुशासन र पुरानो राजनीतिक कार्यशैलीविरुद्धको आवाजलाई आफ्नो पहिचान बनाउनुभएको थियो । काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा उहाँले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नुभएको थियो । त्यस्तै, २०८२ को भदौ पहिलो साता तत्कालीन प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला लिपुलेक नेपालको भूमि भएको विषय चीनसमक्ष उठाउन आग्रह गर्नुभएको थियो ।

त्यतिबेला उहाँको स्पष्ट भनाई थियो, ‘नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा कुनै पनि छिमेकीसँग सम्झौता हुनु हुँदैन ।’
तर अहिले उहाँ आफैँ प्रधानमन्त्री बन्नुभएको छ । भारतसँग प्रत्यक्ष संवाद गर्ने, नेपालको आधिकारिक अडान राख्ने र सीमा विवाद समाधानका लागि उच्चस्तरीय राजनीतिक पहल गर्ने अवसर उहाँकै हातमा थियो । यही अवसरमा सीमा विवाद वार्ताको विषय नै बनेन ।

नेपालको कूटनीतिक इतिहासमा भारत भ्रमण गर्ने प्रधानमन्त्रीहरूले सीमा विवादलाई विभिन्न रूपमा उठाउँदै आएका छन् । तर शाहको भ्रमणमा यो विषय उच्चस्तरीय राजनीतिक सहमतिका रूपमा अघि बढ्न सकेन । यसले उहाँको विगतको राजनीतिक अभिव्यक्ति र वर्तमान सरकारी व्यवहारबीचको लुशिफर पनालाई सार्वजनिक बहसको विषय बनाएको छ भने जस्ले बालेन बेइमानको बादशाह हुन, झुट र अफवाहको योजनाकार हुन भन्ने तथ्यलाई थप उजागर गरिदिएको छ ।

राष्ट्रियता केवल नक्सामा देखाइने भूभाग वा सामाजिक सञ्जालमा लेखिने अभिव्यक्तिमा सीमित हुँदैन ।राष्ट्रियताको वास्तविक अर्थ राज्यको आधिकारिक अडानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्नु हो । यही कुरामा बालेन फेल भएका छन ।

भारतीय विदेश सचिवको अभिव्यक्तिले खोल्यो भ्रमणको वास्तविकता

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि सबैभन्दा महत्वपूर्ण प्रश्न भारतीय विदेश सचिव विक्रम मिस्रीको अभिव्यक्तिले जन्माएको छ । भारतीय सञ्चारकर्मीहरूले लिपुलेक हुँदै भारत र चीनबीच भइरहेको व्यापार तथा त्यसप्रति नेपालको आपत्तिबारे प्रश्न गर्दा विदेश सचिव मिस्रीले उक्त विषय भ्रमणको क्रमममा कँहीकतै वार्तामा नउठेको बताउनुभयो । उहाँको भनाइको निचोड थियो, ‘लिपुलेकको विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएन, त्यस्को च्याप्टर क्लोज भयो ।’

बिदेश सचिव मिस्रीको यो सामान्य कूटनीतिक टिप्पणी होइन । दुई देशका प्रधानमन्त्रीबीच भएको उच्चस्तरीय वार्तामा कुन विषय उठ्यो र कुन विषय उठेन भन्नेबारे सम्बन्धित देशका विदेश सचिवले दिएको आधिकारिक जानकारी हो । नेपालको दृष्टिकोणबाट हेर्दा यो जवाफ निकै असहज छ । किनभने लिपुलेक कुनै सामान्य व्यापारिक नाका मात्र होइन । यो नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय हो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग हो । तर भारतले भने ती क्षेत्रमा आफ्नो प्रशासनिक तथा भौतिक उपस्थिति कायम राखेर अतिक्रमण गर्दै आएको छ । नेपालले यस विषयमा कूटनीतिक विरोध जनाउँदै आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणलाई सीमा विवाद समाधानका लागि उच्चस्तरीय राजनीतिक अवसरका रूपमा उपयोग गर्न सकिन्थ्यो । तर त्यो अवसर उपयोग भएको देखिएन ।

प्रधानमन्त्रीले अवसर उपयोग भन्दा भारत रिझाउने कामतिर लम्पसारवाद देखाएर नेपाली जनताको बिश्वासमाथि घात गरिदिए । यसले बालेन सरकारमाथि प्रश्न उठेको छ, ‘सीमा विवाद भारत रिसाउँछ भनेर वार्ताको प्राथमिकताबाट हटाइएको हो ? वा सरकारले भ्रमणअघि नै यो विषय नउठाउने समझदारी गरेको थियो ?’ नेपाली जनता यसको स्पष्ट जवाफ खोजिरहेका छन ।

संयुक्त वक्तव्यमा सीमा विवाद : पुरानै भाषा, नयाँ उपलब्धि शून्य

भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यको सीमा सम्बन्धी बुँदा अध्ययन गर्दा नेपालको अपेक्षाअनुसार कुनै नयाँ राजनीतिक सहमति भएको देखिँदैन । संयुक्त वक्तव्यमा दुवै देशका परराष्ट्र सचिवलाई बाँकी रहेका सीमा समस्यामा काम अघि बढाउन निर्देशन दिइएको उल्लेख छ । सीमा स्तम्भको मर्मत तथा पुनःस्थापनाका लागि संयुक्त रूपमा भइरहेको प्राविधिक कामप्रति पनि सन्तुष्टि व्यक्त गरिएको छ । जनता भुक्याउनका लागि प्रयोग भएको यी शब्द रुपमा हेर्दा सकारात्मक देखिए पनि प्रश्न यसको नयाँपन र प्रभावकारिताको हो ।

नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र पहिलेदेखि नै अस्तित्वमा छ । विगतका प्रधानमन्त्रीस्तरीय भ्रमण र संयुक्त वक्तव्यहरूमा पनि सीमा समस्या समाधानका लागि सम्बन्धित अधिकारीलाई निर्देशन दिने भाषा प्रयोग हुँदै आएको छ । तर दशकौँ बितिसक्दा पनि कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताजस्ता विवादित क्षेत्रको समस्या समाधान हुन सकेको छैन ।

प्रधानमन्त्री शाहको भ्रमणले पनि पुरानै प्रक्रियालाई निरन्तरता दिएको छ । विवादित क्षेत्रको नाम किटान गरिएको छैन, समाधानको समयसीमा तोकिएको छैन र राजनीतिक तहमा विवाद समाधान गर्ने कुनै नयाँ संयन्त्र घोषणा गरिएको छैन । यही कारण पूर्वराजदूत नीलाम्बर आचार्यले समेत यो भ्रमणले अपेक्षित राजनीतिक सफलता हासिल गर्न नसकेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार सीमा विवाद र सन्धि-सम्झौताको पुनरावलोकनजस्ता विषयमा छलफल हुन नसक्नु भ्रमणको असफलता हो ।

यसले प्रश्न जन्माएको छ, ‘राजनीतिक नेतृत्वको तहबाट समाधान खोज्नुपर्ने विषयलाई फेरि कर्मचारीतन्त्रको नियमित प्रक्रियामा मात्र सीमित राख्नु नेपालको कूटनीतिक असफलता हो ।’

राष्ट्रिय हितभन्दा आर्थिक सहयोग र पूर्वाधार प्राथमिकतामा ?

प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक सहयोग, ऊर्जा, पूर्वाधार, यातायात तथा कनेक्टिभिटीका विषयमा विभिन्न सहमति र घोषणा भएका छन् । भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग घोषणा गरेको छ । यसमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि ५ हजार ६ सय करोड नेपाली रुपैयाँ बराबरको अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४ सय करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण समावेश छ ।

त्यस्तै, काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमति भएको छ । अयोध्या-जनकपुर रेल सेवा सञ्चालनको उद्घाटन गरिएको छ । रक्सौल-काठमाडौं विद्युतीय रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको घोषणा गरिएको छ । त्यस्तै, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, पेट्रोलियम पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार परियोजनालाई पनि प्राथमिकता दिइएको छ ।

नेपाललाई पुनर्निर्माण, पूर्वाधार विकास, ऊर्जा उत्पादन र व्यापारिक कनेक्टिभिटीका क्षेत्रमा सहयोग आवश्यक छ । तर आर्थिक सहयोग र राष्ट्रिय सार्वभौमिकताको प्रश्नलाई एउटै तराजुमा राख्न मिल्दैन । नेपालले भारतबाट विकास सहयोग प्राप्त गर्नु सकारात्मक कुरा हो । तर त्यसको बदलामा सीमा विवाद, सन्धि पुनरावलोकन, जलस्रोतको अधिकार र अन्य राष्ट्रिय हितका विषयमा मौन बस्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै हो ।

अझ महत्त्वपूर्ण कुरा, घोषित २४ हजार करोड रुपैयाँलाई सबै अनुदानका रूपमा बुझ्नु गलत हुन्छ । त्यसको ठूलो हिस्सा सहुलियतपूर्ण ऋण हो । ऋण भनेको अन्ततः नेपालले नै निश्चित सर्तमा फिर्ता गर्नुपर्ने रकम हो । त्यसैले आर्थिक सहयोगको घोषणालाई बालेन सरकारको कूटनीतिक विजयको पूर्ण प्रमाणका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुँदैन । तर सत्ताधारी अफवाहकारीहरु यही प्रचार गरेर फेरि जनतालाई भ्रमित पार्न लागिपरेका छन ।

ओझेलमा पञ्चेश्वरदेखि ईपीजीसम्म नेपालका महत्वपूर्ण एजेन्डा

नेपाल-भारत सम्बन्धका प्रमुख विवादित तथा पेचिला विषयमध्ये सीमा विवाद मात्र एउटा हो । सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, जलस्रोतको उपयोग र व्यापारिक अवरोधजस्ता विषय पनि उत्तिकै महत्वपूर्ण छन् । तर प्रधानमन्त्री शाहको भ्रमणले यी विषयमा पनि अपेक्षित राजनीतिक उपलब्धि दिन सकेन ।

नेपालले लामो समयदेखि ईपीजी प्रतिवेदन भारतले बुझ्नुपर्ने र त्यसका सुझाव कार्यान्वयनको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्दै आएको छ । तर भ्रमणपछि भारतीय विदेश सचिवले ईपीजी प्रतिवेदनलाई विगतको विषयका रूपमा प्रस्तुत गर्दै च्याप्टर क्लोज भएको घोषणा नै गर्नुभएको छ । यसले नेपालको अर्को महत्त्वपूर्ण कूटनीतिक एजेन्डासमेत ओझेलमा परेको तथ्य उजागर गरेको छ । त्यस्तै, यस भ्रमणमा महाकाली सन्धिसँग जोडिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि ठोस प्रगति हुन सकेन । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), पानीको उपयोग, लाभको बाँडफाँट र लगानीको अनुपातबारे दुवै देशबीच मतैक्य हुन सकेको छैन ।

भारत भ्रमणअघि नेपालले यस परियोजनामा प्रगति गर्ने अपेक्षा राखेको थियो । तर भ्रमणको अन्तिम संयुक्त वक्तव्यमा डीपीआरलाई शीघ्र अन्तिम रूप दिएर कार्यान्वयन अघि बढाउने निर्देशन मात्र समेटिएको छ । यसरी हेर्दा नेपालले प्राथमिकतामा राखेका धेरै महत्वपूर्ण विषयमा पुरानै प्रतिबद्धता दोहोरिएको छ । नयाँ राजनीतिक सहमति र निश्चित कार्ययोजना भने देखिँदैन ।

भारतसँगको वार्तामा नेपाल किन कमजोर देखियो ?

कूटनीति भनेको केवल दुई प्रधानमन्त्रीबीचको भेटघाट, स्वागत समारोह, संयुक्त तस्बिर र औपचारिक वक्तव्य होइन । कूटनीतिक सफलताको वास्तविक मापन आफ्नो देशको राष्ट्रिय हितका विषयमा कति उपलब्धि हासिल भयो भन्ने हो । नेपाल र भारतबीच शक्ति, अर्थतन्त्र, बजार र अन्तर्राष्ट्रिय प्रभावका हिसाबले ठूलो असमानता छ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक हो । नेपालका लागि भारतको बजार, पारवहन, ऊर्जा व्यापार र आर्थिक सहयोग महत्वपूर्ण छन् । तर दुई देशबीचको असमान शक्तिसम्बन्धले नेपालको राष्ट्रिय हितका विषय उठाउनै नसक्ने अवस्था सिर्जना गर्नु हुँदैन ।

नेपालसँग आफ्नै ऐतिहासिक दस्तावेज, सन्धि, प्रमाण र भौगोलिक दाबी छन् । सन् १८१६ को सुगौली सन्धिसहितका ऐतिहासिक आधार प्रस्तुत गर्दै नेपालले आफ्नो दाबी राख्दै आएको छ ।यस्तो अवस्थामा प्रधानमन्त्री बालेनले भारतसँगको सम्बन्ध बिग्रने डरले संवेदनशील विषय उठाउन नसकेको हो भने त्यो कूटनीतिक कमजोरी मात्र होइन हुतिहारापन र लम्पसारवाद हो ।

यस्तो डर वा व्यक्तिगत दबाबमा रहने ब्यक्ति प्रधानमन्त्रीका रुपमा रहन सक्दैन । यी तथ्यहरुलाई आरोप भनेर प्रतिवाद गर्न सकिएला तर परिणामका आधारमा मूल्याङ्कन गर्दा प्रधानमन्त्री शाहको भ्रमणले सीमा विवादमा नेपालको पक्षलाई नयाँ राजनीतिक बल दिन सकेको देखिँदैन ।

यसमा भ्रमणअघि नेपालको तयारी, प्राथमिकता निर्धारण, वार्ता टोलीको क्षमता र राजनीतिक नेतृत्वको प्रतिबद्धतामाथि पनि प्रश्न उठ्छ । अझ प्रधानमन्त्री शाहले यसअघि संसदमा भारतले नेपालको भूमि अतिक्रमण गरेजस्तै नेपालले पनि विभिन्न स्थानमा भारतीय भूमि अतिक्रमण गरेको जानकारी आफूले पाएको बताउनुभएको थियो ।

उक्त अभिव्यक्तिको विपक्षी दल र सीमा विज्ञहरूले आलोचना गरेका थिए । सीमा विवादको विषयमा यस्तो अभिव्यक्ति दिनुअघि प्रमाण र आधिकारिक नक्साको स्पष्टता आवश्यक थियो । अहिले भारत भ्रमणमा समेत विवादित भूभागबारे कुनै नयाँ राजनीतिक सहमति नहुनुले नेपालको वार्ता रणनीतिमाथि थप प्रश्न खडा गरेको छ ।

नेपालले के पायो ?

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई कति सफल भयो भन्ने कुरा सीमाको कुराले छर्लंगै पारिसकेको छ । भ्रमणमा नियमित बिषय पूर्वाधार, ऊर्जा, हवाई सम्पर्क, व्यापारिक पारवहन र विपद्पछिको पुनर्निर्माणमा केही सकारात्मक उपलब्धि हासिल भएका छन् । तर नेपालको राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएका विषयमा उपलब्धि र अवसर गुमायो ।

नेपालले प्राप्त गरेका उपलब्धि

विपद्पछिको पुनर्निर्माण र विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा ।

काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमति ।

अयोध्या-जनकपुर रेल सेवा सञ्चालन ।

रक्सौल–काठमाडौं रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको घोषणा ।

ऊर्जा तथा पेट्रोलियम पूर्वाधार विस्तारमा सहकार्य ।

दुई देशबीच उच्चस्तरीय राजनीतिक सम्बन्धलाई निरन्तरता ।

नेपालले हासिल गर्न नसकेका महत्वपूर्ण विषय

लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादमा नयाँ राजनीतिक सहमति ।

सीमा विवाद समाधानको निश्चित समयसीमा ।

ईपीजी प्रतिवेदन कार्यान्वयनका लागि ठोस प्रतिबद्धता ।

सन् १९५० को सन्धि पुनरावलोकनमा स्पष्ट प्रगति ।

पञ्चेश्वर परियोजनामा पानीको अधिकार र लाभ बाँडफाँटको विवाद समाधान ।

नेपालको व्यापार तथा पारवहनसम्बन्धी दीर्घकालीन समस्यामा अपेक्षित प्रगति ।

यसरी हेर्दा आर्थिक तथा पूर्वाधार सहयोगका क्षेत्रमा केही उपलब्धि भए पनि राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका मुख्य एजेन्डामा नेपालले अपेक्षित सफलता हासिल गर्न सकेन ।

सबैभन्दा ठूलो गुमेको पक्ष भनेको सीमा विवादमा उच्चस्तरीय राजनीतिक पहल गर्ने एउटा महत्वपूर्ण अवसर हो ।

अब सरकारले दिनुपर्ने जवाफ

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि सरकारले जनतासामु केही प्रश्नको स्पष्ट जवाफ दिन आवश्यक छ ।

पहिलो, नेपालले भ्रमणअघि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय औपचारिक एजेन्डामा राखेको थियो कि थिएन ?

दोस्रो, यदि राखिएको थियो भने भारतीय पक्षले छलफल गर्न अस्वीकार गरेको हो कि नेपाल स्वयंले यो विषय नउठाउने निर्णय गरेको हो ?

तेस्रो, भारतीय विदेश सचिवले लिपुलेकबारे कुनै छलफल नभएको बताउँदा नेपाल सरकारको आधिकारिक धारणा के हो ?

चौथो, सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई दिइएको निर्देशनको समयसीमा र कार्ययोजना के छ ?

पाँचौँ, प्रधानमन्त्रीले संसद्मा पहिले व्यक्त गर्नुभएको सीमा अतिक्रमणसम्बन्धी अभिव्यक्ति र नेपालको आधिकारिक भौगोलिक दाबीबीचको सम्बन्ध के हो ?

यी प्रश्न उठाउनु सरकारको विरुद्धमा राजनीतिक विरोध होइन । राष्ट्रिय हितका विषयमा पारदर्शिता र जवाफदेहिता माग्नु नागरिकको अधिकार हो ।

मोदीसँगको मित्रता सफल भयो, नेपालको राष्ट्रिय एजेन्डा अधुरै रह्यो

प्राप्त तथ्यहरुले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा आर्थिक तथा पूर्वाधार सहकार्यका केही नयाँ सम्भावना खोलेको छ । तर राष्ट्रिय सार्वभौमिकता, सीमा विवाद र पुराना सन्धि–सम्झौताका विषयमा ठोस उपलब्धि हासिल हुन सकेन भन्ने प्रष्ट पारेको छ ।

ग्रेटर नेपालको नक्सा राख्ने, लिपुलेक नेपालको भूमि भएको बताउने र राष्ट्रियताको मुद्दामा पुराना नेताहरूलाई प्रश्न गर्ने राजनीतिक नेतृत्वबाट जनताले प्रधानमन्त्री बनेपछि अझ दृढ कूटनीतिक पहलको अपेक्षा गरेका थिए । तर भारत भ्रमणको परिणामले त्यो अपेक्षा पूरा गर्न सकेन । त्यो केवल नाटक थियो भन्ने देखायो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आत्मीय भेटघाट, औपचारिक स्वागत र विकास सहयोगका घोषणाले भ्रमणलाई आकर्षक बनाएको हुन सक्छ । तर नेपालको राष्ट्रिय हितको वास्तविक परीक्षा त्यस्ता दृश्यबाट होइन, वार्ताको टेबलमा उठाइएका मुद्दा र हासिल गरिएका उपलब्धिबाट हुन्छ ।

नेपालले भारतसँग मित्रता राख्नुपर्छ, आर्थिक सहकार्य विस्तार गर्नुपर्छ र छिमेकी सम्बन्धलाई सुमधुर बनाउनुपर्छ । तर मित्रताको नाममा आफ्नो सार्वभौमिकतासँग जोडिएका प्रश्नलाई ओझेलमा पार्नु हुँदैन ।

प्रधानमन्त्री शाहले विगतमा उठाउनुभएको राष्ट्रियताको मुद्दा अहिले उहाँकै नेतृत्वमा सरकार सञ्चालन हुँदा अझ महत्वपूर्ण बनेको छ । त्यसैले उहाँको भारत भ्रमणको सबैभन्दा ठूलो मूल्याङ्कन यही हो, ‘विगतमा उठाउनुभएको राष्ट्रियताको आवाजलाई प्रधानमन्त्रीका रूपमा कूटनीतिक उपलब्धिमा रूपान्तरण गर्न सक्नुभयो कि सक्नुभएन ?’ अहिलेसम्म सार्वजनिक भएका तथ्यले दोस्रो प्रश्नको सकारात्मक जवाफ दिँदैनन् ।

नेपालले भारतबाट आर्थिक सहयोगको घोषणा पाएको छ, पूर्वाधार विकासका केही सहमति पाएको छ । तर लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादमा नयाँ राजनीतिक उपलब्धि पाएको छैन । त्यसैले यो भ्रमण आर्थिक सहकार्यका दृष्टिले उपलब्धिमूलक भए पनि नेपालको राष्ट्रिय एजेन्डाका दृष्टिले अधुरो र गुमेको अवसरका रूपमा इतिहासमा दर्ज भएको छ ।

राष्ट्रियता भाषणमा होइन, निर्णयमा देखिनुपर्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेपछि राष्ट्रिय हितका विषयमा मौन बस्नुपर्ने अवस्था आउँछ भने विगतमा गरिएका राष्ट्रवादी अडान हावा भरिएको बेलुनमा परिणत हुन्छ। भारतीय समकक्ष नरेन्द्र मोदीको धापमा रमाएर प्रधानमन्त्री बालेनले पनि आफूलाई यही सावित गर्नुभएको छ ।