जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार १०:५४

प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दामा ठोस पहल हुन सकेन : एमाले 


काठमाडौं, मंसिर ८ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण राष्ट्रिय हितका महत्त्वपूर्ण मुद्दामा ठोस उपलब्धि हासिल गर्न असफल भएको टिप्पणी गर्नुभएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नयाँ राजनीतिक नेतृत्व, बदलिएको जनअपेक्षा र नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिए पनि सार्वजनिक भएका सहमति र तत्काल देखिएका उपलब्धिका आधारमा भ्रमण औसत रहेको आचार्यको निष्कर्ष छ।

आचार्यले काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमतिलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गर्नुभएको छ। तर नेपालका दीर्घकालीन राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएका सीमा समस्या समाधान, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने तथा तेस्रो मुलुकसँग निर्बाध विद्युत् व्यापारका अवरोध हटाउने विषयमा छलफलसमेत हुन नसक्नु दुःखद रहेको उहाँको टिप्पणी छ।

उहाँले भ्रमणका क्रममा विगतमा सहमति भएका परियोजनालाई निरन्तरता दिने र निर्माण सम्पन्न आयोजनाको उद्घाटन गर्ने विषयले प्राथमिकता पाएको उल्लेख गर्नुभएको छ। भारतले दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता घोषणा गर्नु सकारात्मक भए पनि त्यसको प्रकृतिबारे स्पष्ट हुनुपर्ने उहाँको धारणा छ।

आचार्यका अनुसार उक्त सहायतामध्ये ५६ अर्ब रुपैयाँ मात्र अनुदान रहेको छ भने बाँकी एक खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा परियोजनाका लागि ऋण सुविधा हो। त्यसैले सम्पूर्ण रकमलाई अनुदान वा सहयोगका रूपमा बुझ्न नहुने उहाँको आशय छ।

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता औपचारिक भेटघाट, सहमति र घोषणाले मात्र निर्धारण नहुने उल्लेख गर्दै आचार्यले राष्ट्रिय हितका जटिल मुद्दामा कति प्रगति भयो र भविष्यका लागि कति ठोस आधार निर्माण गरियो भन्ने विषय नै महत्त्वपूर्ण हुने बताउनुभएको छ।

विशेषगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता संवेदनशील सीमा मुद्दा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उच्चारणसमेत हुन नसक्नु र ईपीजी प्रतिवेदनलाई अघि बढाउने विषयमा पहल नहुनु सकारात्मक नभएको उहाँको टिप्पणी छ। भारतका विदेश सचिवको वक्तव्यले समेत यी विषयमा नेपालको अपेक्षाअनुसार प्रगति हुन नसकेको सङ्केत गरेको उहाँको धारणा छ।

नयाँ नेतृत्वबाट नयाँ सोच, स्पष्ट कूटनीतिक दृष्टिकोण र राष्ट्रिय स्वार्थका मुद्दामा दृढ प्रस्तुतिको अपेक्षा गरिएको उल्लेख गर्दै आचार्यले भन्नुभएको छ, “भ्रमणको सफलता राष्ट्रिय हितका जटिल मुद्दामा कति प्रगति भयो र भविष्यका लागि कति ठोस आधार निर्माण गरियो भन्ने कुराले निर्धारण गर्छ।”

समग्रमा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई औसत ठहर गर्दै आचार्यले नयाँ नेतृत्वले कूटनीतिक सम्बन्धलाई औपचारिकता र परियोजना घोषणामा मात्र सीमित नगरी नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, आर्थिक हित र दीर्घकालीन राष्ट्रिय स्वार्थका विषयमा स्पष्ट अडान राख्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।