काठमाडौं, मंसिर ८ । एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत नेपालको यो अन्तिम खेल हो । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपालले प्रतियोगितामा यसअघि दुई खेल खेलेको छ । पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले पराजित गरेको थियो ।
यूएईविरुद्धको खेलमा कुशल भुर्तेलले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्नुभएको थियो । उहाँले तीन विकेट लिनुका साथै ५७ रन बनाउनुभएको थियो । नेपालले यूएईलाई ३९ दशमलव ५ ओभरमा १२१ रनमा अलआउट गरेको थियो भने २२ ओभरमा चार विकेट गुमाएर १२३ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तान ‘ए’ भने प्रतियोगितामा उत्कृष्ट लयमा छ । उसले पहिलो खेलमा यूएईलाई ६१ रन र दोस्रो खेलमा भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ । चार अंकसहित पाकिस्तान ‘ए’ समूहको शीर्ष स्थानमा छ ।
भारत ‘ए’ र नेपाल समान दुई अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा भारत ‘ए’ले आजै यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको समूह ‘ए’मा श्रीलंका, अफगानिस्तान र बंगलादेशका ‘ए’ टोली तथा हङकङको राष्ट्रिय टोली रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्