जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार ०९:३१

संसद् अधिवेशनअघि थप अध्यादेश ल्याउने सरकारको तयारी, ५९ ऐन संशोधनको योजना


काठमाडौं, मंसिर ८ । सरकारले केही अत्यावश्यक कानुन अध्यादेशमार्फत संशोधन गरेपछि मात्रै संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।

यही मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुन लागेको पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै सरकारले थप अध्यादेश ल्याउन लागेको हो । सम्मेलनमा प्रस्तुत गरिने आयोजनाहरू अघि बढाउन बाधक रहेका कानुनी व्यवस्था संशोधन गर्ने सरकारको तयारी छ ।

संसद् अधिवेशन बोलाउने विषयमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग परामर्श गर्नुभएको थियो । सरकारले लगानी तथा पूर्वाधार सम्मेलनका लागि केही अध्यादेश ल्याउनुपर्ने जानकारी गराएको र त्यसलगत्तै अधिवेशन बोलाउने तयारी रहेको सभामुख अर्यालले बताउनुभएको छ ।

कानुनमन्त्री गौतमले पनि पूर्वाधार सम्मेलनलाई सहजीकरण गर्न अत्यावश्यक कानुन मात्रै अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताउनुभएको छ । सम्मेलनमा प्रस्तुत गरिने आयोजना अघि बढाउन कुन–कुन कानुनी व्यवस्था बाधक छन् भन्ने अध्ययन भइरहेको उहाँको भनाइ छ ।

सरकारले पूर्वाधार सम्मेलनका लागि ५९ वटा ऐन संशोधनको तयारी गरिरहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिनुभएको छ ।

यसअघि संघीय संसद्को बजेट अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो । त्यसयता सरकारले राष्ट्रपतिसमक्ष आठवटा अध्यादेश सिफारिस गरे पनि पाँचवटा मात्रै जारी भएका छन् ।

जारी भएका अध्यादेशमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, वनसम्बन्धी केही नेपाल ऐन संशोधन, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश छन् ।

त्यस्तै, प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष विचाराधीन छन् । मन्त्रिपरिषद्ले मंसिर ४ गते सिफारिस गरेको ‘जेन–जी आन्दोलनका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि जारी हुन बाँकी छ ।

सरकारको अध्यादेश ल्याउने तयारीप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस नेता भीष्मराज आङ्देम्बेले कानुन निर्माण गर्ने मुख्य थलो संसद् भएकाले अधिवेशन बोलाएर संसदीय प्रक्रियाबाटै कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सरकारले अधिवेशन बोलाउने विषयमा विपक्षी दलसँग छलफल नगरेको उल्लेख गर्दै उहाँले अध्यादेशको बाटो रोज्नु संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासका लागि उचित नहुने धारणा राख्नुभएको छ । संसदीय उच्चस्तरीय समिति गठन गरेर विभिन्न विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पनि अधिवेशन छिटो बोलाउनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा सांसद जगदीश खरेलले पनि संसद् अधिवेशन ढिलो बोलाउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । अधिवेशन बोलाउने विषयमा पार्टीभित्र हालसम्म छलफल नभएको उल्लेख गर्दै उहाँले सरकारले नै त्यसका लागि पहल गर्नुपर्ने धारणा राख्नुभएको छ ।

यसैबीच, संसद् अधिवेशन बोलाएर न्यायालय शुद्धीकरणको प्रक्रिया अघि बढाउनुपर्ने आवाज पनि सत्तारूढ दलभित्र उठिरहेको छ । रास्वपाको गत कात्तिक १४ गते बसेको सचिवालय बैठकले न्यायालयभित्रका विकृति र अनुचित साँठगाँठका विषयमा विधिसम्मत ढंगले छानबिन गरी निष्कर्षमा पुर्‍याउन संसदीय दललाई निर्देशन दिएको थियो ।

न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठाउने घटनाको निरूपण गर्न संसद्बाटै निर्णायक कदम चाल्नुपर्ने रास्वपाको निष्कर्ष छ ।