जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार १०:३२

मोदी-बालेनका सहमति दिल्लीले आफ्नो प्रान्तसँग गर्ने सहमतिभन्दा माथिका छैनन् : विश्लेषक भरत दाहाल


नेपाल–भारतबीच वर्षौंदेखि बल्झिएका सीमा, सन्धि, व्यापार तथा पारवहनका मूल मुद्दा प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्न नसकेको राजनीतिक विश्लेषक दाहालको टिप्पणी

काठमाडौं, मंसिर ८ । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण मुद्दा उठाउन नसकेको भ्रमणका रूपमा व्याख्या गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका वर्षौंदेखि बल्झिएका समस्याबारे कुनै ठोस छलफल नभएको टिप्पणी गर्दै भ्रमणलाई ‘मोदीका मुख्यमन्त्रीको फिर्ती सवारी !’ भन्ने शीर्षकमा आफ्नो विश्लेषण सार्वजनिक गर्नुभएको छ ।

दाहालका अनुसार दुई सार्वभौम मुलुकबीच हुनुपर्ने वार्तामा नेपालको राष्ट्रिय स्वाधीनता, सीमा विवाद, असमान सन्धि तथा नेपाली नागरिकका समस्याले प्राथमिकता पाउनुपर्ने भए पनि ती विषय छलफलमै प्रवेश गर्न सकेनन् । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, “एउटा सार्वभौम देश नेपालसँग बल्झिएका समस्याहरूमा वार्ता हुनुपर्ने आवश्यकताको कोणबाट मोदी–बालेनका बीचमा एउटा मुद्दामा पनि कुरा उठेन ।”

उहाँले नेपाल–भारतबीच लामो समयदेखि विवादित रहेका ईपीजी प्रतिवेदन, सन् १९५० को सन्धि, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवाद भ्रमणका क्रममा छलफलको विषय नबनेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य, असमान व्यापार तथा पारवहन सम्झौता, भारतीय बजारमा नेपाली उत्पादनको पहुँचमा देखिएका अवरोध र भारतमा काम गरेर स्वदेश फर्किने नेपाली नागरिकमाथि हुने भनिएका दुर्व्यवहारका विषयसमेत उठ्न नसकेको उहाँको विश्लेषण छ ।

दाहालले पञ्चेश्वर परियोजना तथा नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको अनधिकृत प्रवेशसम्बन्धी विषयलाई समेत महत्वपूर्ण मुद्दाका रूपमा प्रस्तुत गर्नुभएको छ । तर ती विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कुनै छलफल नभएको उहाँको दाबी छ ।

सम्झौताहरू नेपालको राष्ट्रिय मुद्दाभन्दा विकास आयोजनामा सीमित

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति तथा उद्घाटन र शिलान्यासका कार्यक्रमलाई उल्लेख गर्दै दाहालले ती उपलब्धिहरूलाई नेपाल–भारतबीचका मूल समस्याको समाधानका रूपमा लिन नसकिने टिप्पणी गर्नुभएको छ ।

उहाँका अनुसार भोटेकोशी पुनर्निर्माण तथा विकासका लागि रकम उपलब्ध गराउने आश्वासन, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति, अयोध्या–जनकपुर रेल उद्घाटन, दार्चुला–धार्चुला पुल उद्घाटन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भ्रमणका प्रमुख कार्यक्रम रहे ।

त्यस्तै सिलगढी–झापा पेट्रोलियम पाइपलाइनको शिलान्यास, बनबासा एकीकृत जाँच चौकीको शिलान्यास तथा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाललाई हस्तान्तरण गर्ने कार्यलाई पनि उहाँले भ्रमणका उपलब्धिका रूपमा उल्लेख गर्नुभएको छ ।

तर यी सहमति तथा परियोजनाले नेपालका दीर्घकालीन राष्ट्रिय सरोकारका विषयलाई सम्बोधन नगरेको उहाँको विश्लेषण छ । दाहालले भन्नुभएको छ, “यी सम्झौताहरू दिल्लीले आफ्नो प्रान्तसँग गर्ने सहमतिभन्दा माथिका छैनन् र त्यो पनि अधिकांश पुराना सहमतिहरू !”

उहाँको आशय भ्रमणका क्रममा भएका विकास निर्माणसम्बन्धी सहमतिभन्दा नेपालले उठाउनुपर्ने ऐतिहासिक, राजनीतिक, कूटनीतिक तथा आर्थिक मुद्दा महत्वपूर्ण हुनुपर्ने भन्ने छ ।

भ्रमणअघि नै के हुन्छ र के हुँदैन भन्ने सार्वजनिक भइसकेको थियो

दाहालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कुन विषय उठ्ने र कुन विषय नउठ्ने भन्ने कुरा भ्रमण हुनुअघि नै भारतीय विश्लेषक तथा सञ्चारमाध्यमहरूले सार्वजनिक रूपमा आकलन गरिसकेको दाबी गर्नुभएको छ ।

उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र बदलिँदो भू–राजनीतिक परिस्थितिलाई जोड्दै भारतले नेपालसँगको सम्बन्धमा आफ्नो रणनीतिक स्वार्थलाई प्राथमिकता दिएको विश्लेषण गर्नुभएको छ ।

विशेषगरी २०८२ साल भदौको घटनापछि नेपाल र विश्वको भू–राजनीतिमा आएको उतारचढावलाई ध्यान दिनेहरूले भारतको रणनीतिक चासो बुझ्न सक्ने उहाँको भनाइ छ ।

दाहालले आफ्नो विश्लेषणमा नेपालमा भारतले अघि बढाउन खोजेको भनिएको ‘तिब्बत प्रोजेक्ट’ को प्रसंगसमेत उठाउनुभएको छ । उहाँका अनुसार उक्त रणनीतिक उद्देश्यका लागि दिल्लीलाई रिझाउनुपर्ने परिस्थिति सिर्जना भएको उहाँको दाबी छ ।

‘भारत सन्तुलन’को रणनीतिमा नेपालको राष्ट्रिय मुद्दा ओझेलमा परेको दाबी

दाहालले प्रधानमन्त्रीको भारत भ्रमणलाई ‘भारत सन्तुलन’को रणनीतिसँग जोड्दै भ्रमणका क्रममा नेपालको तर्फबाट पर्याप्त राष्ट्रिय अडान प्रस्तुत हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

उहाँले आफ्नो विश्लेषणमा २०८२ साल भदौको घटनाका निर्देशकको भनाइ उद्धृत गर्दै लेख्नुभएको छ, “मोदीसँग ढोगभेट गर्न जाऊ बालेन ! भारतले थोपरेका समस्याहरूको कुरा नगर्नु, जति सक्दो बढी बफादारिताको प्रमाणपत्र प्रस्तुत गर्नु !”

दाहालको यो टिप्पणीले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर उहाँले उठाउन खोज्नुभएको राजनीतिक तथा कूटनीतिक प्रश्नलाई उजागर गरेको छ ।

उहाँको विश्लेषणको मुख्य निष्कर्ष नेपाल–भारत सम्बन्धमा विकास आयोजनासम्बन्धी सहमति र औपचारिक भेटघाट मात्रै पर्याप्त नहुने भन्ने रहेको छ । दुई देशबीचका सीमा विवाद, असमान सन्धि, व्यापार तथा पारवहनका समस्या र नेपाली नागरिकका सरोकारलाई समेत समान महत्वका साथ उठाउनुपर्ने उहाँको धारणा छ ।