जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार ११:१५

जनकपुरधाम आइपुग्यो अयोध्याबाट छुटेको ‘सरयू-कमला एक्सप्रेस’


काठमाडौं, मंसिर ८ । भारतको अयोध्याबाट सञ्चालनमा आएको नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ नेपालको धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधाम आइपुगेको छ।

भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त रेल सोमबार मध्यान्ह १२ः३० बजे अयोध्याबाट प्रस्थान गरी मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो।

जनकपुरधाम आइपुगेको रेलका यात्रुलाई स्थानीयवासीले फूलमाला र नेपाल तथा भारतका राष्ट्रिय झण्डा प्रदर्शन गरी स्वागत गरेका थिए। रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादव समेतले स्वागत गर्नु भएकाे छ । रेलको आगमनसँगै जनकपुरधाममा उत्साहपूर्ण वातावरण देखिएको थियो।

नयाँ रेल सेवाले अयोध्या र जनकपुरधामबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्व बोकेका यी दुई सहरबीच रेल सम्पर्क विस्तार हुनुले धार्मिक पर्यटन र दुई देशबीचको आवागमनमा समेत सहजता थप्ने विश्वास गरिएको छ।

रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका अयोध्या र जनकपुरधामबीच सुरु भएको यो रेल सेवाले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई यातायातमार्फत थप जोड्ने अपेक्षा गरिएको छ।